Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली राजमार्ग बाढीले क्षतिग्रस्त, यातायात सेवा अवरुद्ध

मुगु । निरन्तरको वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । साविक कर्णालीको जुम्ला, कालीकोट, मुगु जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

बुधबार रातिदेखि भएको अविरल वर्षापछि गगने खोलामा आएको बाढीले सडक र दही खोलामा आएको बाढीले पूल नै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।

गगने, एस मोड, दैखोला र मेहर खोलामा आएको बाढीले राजमार्ग अबरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए ।

उनका अनुसार तीन ठाउँमा ठुलो पहिरोसहित हुल्म, जिते, जितेगडा, सेरिघाट लगायतका स्थान ससाना पहिरो आएको पनि उनले जानकारी दिए । सडक खुल्न तीन दिन लाग्ने जनाइएको छ ।

सडक डिभिजन जुम्लाको कार्यक्षेत्र दैखोला–जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तर पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ । विशेषगरी शुभकालिका गाउँपालिका जानका लागि निर्माण गरिएको ग्रामीण सडक पनि अवरुद्ध छ । गगने खोला क्षेत्रमा सडक नै भिरालो भएको छ । 

डिभिजनबाट मेसिनसहित पहिरो पन्छाउन जनशक्ति परिचालन भइरहेका छन् । तर साना ठुला गरी दर्जन बढी गाउँमा पहिरो आएकाले सडक खुल्न तीनदेखि चारदिन लाग्ने सडक डिभिजन अनुमान गरेको छ ।

दैखोलामा पुल नै बगाउँदा खोलामा एक मालबहाक ट्रक समेत फसेको छ । गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

सडक अवरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन् । स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन् ।

२३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । हालसम्म चार दर्जन भन्दा बढी पहिरो गएपनि यस बर्ष हाल सम्मकै ठुलो पहिरो गगने खोला आएको हो ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update