Odapalika - The Fourth Estate - चौथो अंग
आवासका नाममा नगरपालिकाले सक्यो लाखौँ रकम, न मेयर बस्छन् न कर्मचारी पस्छन् 

काठमाडौँ । पर्वतको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह  प्रयोगविहीन बनेका छन् ।  

नगरपालिकाले ती घरका भाडावापत  वार्षिक लाखौँ रुपैयाँ भुक्तानी गर्दै आएको छ । नगरप्रमुखको आवासका लागि फलेवास नगरपालिका–६ देवीस्थानमा र कर्मचारीका लागि फलेवास –५ खानीगाउँमा घर भाडामा लिइएको नगरपालिकाले जनाएको छ । 

आवास गृहमा न कर्मचारी बस्छन् न त नगरप्रमुख नै । नगरप्रमुख गङ्गाधर तिवारी वडा नं ३ शङ्करपोखरीमा रहेको आफ्नै घर तथा सदरमुकाम कुश्माबजारमा रहेको घरमा बस्छन् भने केही कर्मचारी नगरले सम्झौता गरेको घरमा नबसी छुट्टै बस्दै आएका छन् ।

नगरपालिकाले नगरप्रमुखका लागि मासिक १५ हजारमा घरबहालमा लिएको छ भने कर्मचारीका लागि मासिक रु १९ हजार ५०० रुपैयाँ भुक्तानी गर्दै आएको छ । पूर्व नगरप्रमुख पदमपाणि शर्माले आवासीय सुविधा लिएपनि वर्तमान नगरप्रमुख तिवारीले भने आवासीय सुविधा नलिएको प्रमुख प्रशासकीय अधिृकत नारायणप्रसाद आचार्य बताउँछन् । 

जनप्रतिनिधि र कर्मचारी नै नबस्ने आवासका लागि वार्षिक ४ लाख रुपैयाँभन्दा बढी भुक्तानी हुँदै आएको जनाउँदै सरोकारवालाले विरोध जनाएका छन् । नगरभित्रै खाली रहेका वडा नं ५ का पुरानो वडा कार्यालय, पुरानो पशु सेवा शाखा, फलेवास सिँचाइ आयोजना, तत्कालीन कृषि विकासको शाखा कार्यालयलाई प्रयोगमा ल्याउन समेत माग गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफू सरुवा भएर आउनुभन्दा पहिल्यैदेखि कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडा भुक्तानी हुँदै आएको बताए ।  उनले ती भवनमा नगरपालिकामा आउने अतिथि पाहुनालाई राख्ने गरिएको बताए ।

यता  नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण पनि तीव्रगतिमा भइरहेको छ । चालु आर्थिक वर्षमा सम्पन्न हुनेगरी प्रशासकीय भवन निर्माण भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update