Odapalika - The Fourth Estate - चौथो अंग
माओवादी द्वन्द्वको बाछिटा : १८ वर्षपछि गयो दुई अवोध बालबालिकाको ज्यान 

काठमाडौँ । माओवादी सशस्त्र विद्रोह सकिएको १८ वर्षपछि तत्कालीन विद्रोही पक्षले प्रयोग गर्ने गरेका विस्फोट पर्दा पड्किँदा पाँचथरमा दुई अवोध बालबालिकोको ज्यान गएको छ । 

माओवादी विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएको दुई दशक पुग्न लाग्दा पनि तत्कालीन अवस्थामा राखिएका विस्फोट पदार्थ व्यवस्थापन नगर्दा पाँथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा दुई अवोध बालबालिकाले ज्यान गुमाउनुपरेको छ । 

बिहीबार विस्फोट पदार्थ विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको छ भने दुई बालक घाइते भएका फालेलुङ गाउँपालिका अध्यक्ष वीरबहादुर थाम्सुहाङले वडापालिकालाई जानकारी दिए । ‘हिजो विस्फोट पदार्थ विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । दुई बालक घाइते भएका छन्,’ उनले भने । 

विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्साको मृत्यु भएको वडा नम्बर ५ का वडा अध्यक्ष भरतकुमार खपांगीले वडापालिकालाई जानकारी दिए । 

उपचारका लागि झापा लैजाँदै गर्दा बिहीबार राति नै प्रिन्साको बाटोमै मृत्यु भएको हो ।  जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि चिकित्सकले झापाको विर्तामोड ‘रेफर’ गरेका थिए । सोही क्रममा प्रिन्साको झापा लैजाने क्रममा मृत्यु भएको हो भने दीप्सनको शुक्रबार बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक दाजुबहिनी हुन् । 

सोही विस्फोटमा परेर घाइते भएका ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राईको जिल्ला अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष खपांगीले जानकारी दिए । उनका अनुसार अर्का दीपक राईका सात वर्षीय छोरा पवन स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किसकेका छन् । 

हथौडाले हान्दा विस्फोट 

माओवादी युद्धकालका विस्फोटक पदार्थ बेलाबेलामा विस्फोट हुँदा नागरिकले अनाहकमा ज्यान गुमाइरहेका छन् । पाँचथरको फालेलुङ– ५, डाँडागाउँको पछिल्लो घटना मात्र हो । यसअघि पनि देशका विभिन्न स्थानमा युद्धकालीन अवस्थाका हातहतियार र  विस्फोट पदार्थ व्यवस्थापन नगर्दा विस्फोट भएका र नागरिकले ज्यान गुमाएका छन् । बिहीबार डाँडागाउँमा भने विस्फोटक पदार्थको निशानामा अवोध बालबालिका परे । 

बालबालिकाले विस्फोटक पदार्थलाई हथौडाले हान्दा विस्फोट भएको वडा अध्यक्ष खपांगी बताउँछन् । ‘बच्चाहरुले विस्फोट पदार्थ भेटेछन् । त्यसपछि हथौडाले हान्दा विस्फोट भयो । दुई बालबालिकाले ज्यान गुमाए भने दुईजना घाइते भए,’ वडा अध्यक्ष खपांगीले भने । 

युद्धकालीन विस्फोट पदार्थ 

माओवादी युद्धकालीन अवस्थाको विस्फोटक पदार्थ व्यवस्थापन नहुँदा बालबालिकाले ज्यान गुमाउनु परेको उनले बताए । ‘अहिले हामीले प्रारम्भिक अनुमान माओवादी युद्धकालको विस्फोट पदार्थ भन्ने हो,’ उनले भने, ‘थप कुरा प्रहरीको अनुसन्धानबाट खुल्नेछ ।’ 

विस्फोट भएको घर युद्धरत अवस्थाका तत्कालीन माओवादी कमान्डर आइतराज केरुङको रहेको वडा अध्यक्ष खपांगीले बताए । ‘अहिले विस्फोट भएको घर तत्कालीन माओवादी कमान्डर आइतराज केरुङ हो । अहिले उनले त्यो घरमा ज्ञानबहादुर राईलाई राखेका छन् । ज्ञानबहादुर बस्दै आएका छन्,’ उनले भने, ‘माओवादी कमान्डरको घर क्षेत्रमा भेटिएको विस्फोटक पदार्थ युद्धकालीनकै हो भन्ने अनुमान गरेका छौँ ।’ 

अर्काे बम डिस्पाेज 

बिहीबार दुई बालबालिकाको ज्यान जानेगरी र दुई बालक घाइते हुने गरी विस्फोट भएको क्षेत्रमा शुक्रबार पनि बम फेला परेको छ । विस्फोटक पदार्थ फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको वडा अध्यक्ष खपांगीले बताए । ‘शुक्रबार पनि विस्फोट पदार्थ फेला परेको छ । त्यसलाई सेनाले डिस्पोज गरिसकेको छ,’ उनले भने ।

रणशेर गण फिदिमबाट बिहीबार भएको घटनाको अनुसन्धान गर्न पुगेको नेपाली सेनाको टोलीले शुक्रबार फेला परेको बम डिस्पोज गरेको हो । 

पालिका त्रासमा

विस्फोटबाट अवोध दुई बालबालिकाको ज्यान गरी भएको घटनाले पालिका नै शोकमा डुबेको वडा अध्यक्ष भरतकुमार खपांगीले बताए । फेरि शुक्रबार पनि बम फेला परेपछि पालिका त्रासमा डुबेको उनले बताए । माओवादीसँग समन्वय गरेर अब युद्धकालीन अवस्थाको हातहतियार र विस्फोट पदार्थको पहिचान गरी त्रास मुक्त गराउने उनले जानकारी दिए । ‘अकालमा ज्यान जाने गरी विस्फोटक पदार्थ छाड्नु हुन्न,’ उनले भने, ‘माओवादी साथीहरुसँग समन्वय गरेर कहाँ कहाँ विस्फोटक पदार्थ र हतियार छन् । खोजी गरेर, त्यसको व्यवस्थापन गरेर पालिकालाई त्रासमुक्त बनाउनुपर्छ । यो सबैको दायित्व पनि हो ।’ 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update