Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेसले जितेको वडामा एमालेको सचिवालय बैठक, यसकारण ऐतिहासिक छ जबज जन्माउने काठघर 

काठमाडौँ । नेकपा एमालेले आगामी १३ भदौमा सिरहाको धनगढीमाई नगरपालिकाको वडा नम्बर १४ स्थित सर्रे अम्बासमा सचिवालय बैठक गर्दैछ । 

सर्रे अम्बास त्यो ठाउँ हो जहाँ तत्कालीन मालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा मात्र निर्वाचित भएनन्, जनताको बहुदलीय जनवाद सिद्धान्तलाई पार्टीले अंगीकार गर्दैै प्रजातान्त्रिक आन्दोलनको उद्घोष भएको थियो । 

स्वर्गीय मदन भण्डारी महासचिवमा निर्वाचित भएर मनमोहन अधिकारीको नेतृत्वमा बामोर्चाको घोषणा भएको यो ऐतिहासिक स्थानलाई राजनीतिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न एमाले बैठक महत्वपूर्ण हुने धनगढी माइ नगरपालिकाका मेयर शिवशंकर महतो बताउँछन् । 

एमालेले ३४ वर्षपछि बैठक गर्न लागेको यो स्थानमा भएको काठघर अहिलेपनि उस्तै अवस्थामा छ । र यही काठघरमा बैठक बस्न लागेको मेयर बताउँछन् । 

बैठक बस्दैगर्दा अर्को एउटा रमाइलो प्रसंग पनि सान्दर्भिक छ । अहिलेसम्म एमालेले जित्दै आएको वडा नम्बर १४ मा यसपटक भने कांग्रेसले वडाध्यक्ष जितेको छ । त्यसो त एमालेबाट निर्वाचित मेयर कार्यपालिकामा अल्पमतमा छन् । २ वटा वडाध्यक्ष सहित ११ जना जनप्रतिनिधि एमालेका छन्, धनगढीमाइ नगरपालिकामा । 

यो बैठकले स्थानीय पार्टी कार्यकर्तामा उत्साह मात्र ल्याउने नभइ मदन भण्डारीलाई नेताका रुपमा जन्माउने यो स्थानलाई राजनीतिक पर्यटनको केन्द्र बनाउन बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेयरको विश्वास छ । 

धनगढीमाइ नगरपालिका वडा नम्बर १० को जिरो माइलबाट १४ किलोमिटर उत्तरमा पर्ने वडा नम्बर १४ मा रहेको मदन भण्डारी पार्क नजिकैको काठघरमा बैठक बस्ने मेयरको भनाइ छ । 

उनका अनुसार यहाँ पुग्न संघीय सरकारको २५ करोड रुपैयाँको लागतमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । यसै वर्ष मदन भण्डारी पार्कसम्म पुग्ने बाटो पीच हुने मेयरको भनाइ छ । 

बैठकस्थलभन्दा ७०० मिटर वरसम्म साना सवारीसमेत गुड्ने सडक छ भने बैठकस्थलको काठघर पुग्न भने कच्ची बाटोका साथै २ वटा खोला तरेर जानुपर्छ । 

२०४६ सालको भदौ ९ देखि १४ सम्म तत्कालीन मालेको चौथो महाधिवेशन गर्न यो स्थानमा एक महिना लगाएर काठको घर निर्माण गरिएको थियो । यही घरमा भएको महाधिवेशनले भण्डारीलाई निर्वाचित मात्र गराएन, पञ्चायतविरुद्धको आन्दोलनको जग पनि निर्माण गरेको मेयर सम्झन्छन् । 

बाममोर्चा बनाउने, त्यसको नेतृत्व भरतमोहन अधिकारीले गर्ने, जनआन्दोलनका कमाण्डरका रुपमा गणेशमान सिंहको नेतृत्व स्वीकार गर्नेजस्ता महत्वपूर्ण निर्णय यो महाधिवेशनले गरेको थियो । 

जनताको बहुदालीय जनवादको जनम भएको यो काठघर भएको क्षेत्र अहिले पनि एमालेकै स्वामित्वमा रहेको मेयरको भनाइ छ । सचिवालय बैठकमा त्यसवेला महाधिवेशनमा प्रतिनित्वि गरेका प्रतिनिधिहरुलाई समेत निम्त्याइएको मेयरको भनाइ छ । 

नगरपालिकाको तर्फबाट पार्टी नेतालाई आथित्यता गर्नेलगायतका कुनै कार्यक्रम नभएपनि यो बैठकले नगरको पर्यटन विकासका साथै राजनीतिक चेत कायम राख्न महत्वपूर्ण हने मेयरको विश्वास छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update