Odapalika - The Fourth Estate - चौथो अंग
रहस्य बन्दै वडा अध्यक्षको मृत्यु, छानबिन गर्न माग

महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेका रामगोपालपुर नगरपालिका वडा २ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु रहस्मय बन्दै गएको छ । 

गएको आइतबार बिहान मृत भेटिएका यादवको मृत्युको कारण उनी सवार मोटसाइकल दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो । तर, घटनास्थलको प्रकृतिको विश्लेषण र पोष्टमार्टमको रिपोर्टले उनको मृत्यु रहस्यमय बनेको हो । 

दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडीको भागमा क्षति पुग्नु, मृतकको तिघ्रा र छातीमा निलडाम देखिनु, जुत्ता फुक्लिएको देखिए पनि खुट्टामा कुनै चोटपटक नदेखिनुजस्ता आधारले उनको मृत्यु शंकास्पद र रहस्यमय बनेको मृतकका आफन्त सन्तोष यादवले बताए । 

सोमबार भएको पोष्टमार्टम रिपोर्टले समेत मृत्युको मुख्य कारण छाती र टाउकोमा गम्भीर चोट लाग्नुलाई आधार बनाएको छ ।

छातीमा केही निलडामजस्तो देखिनु र सोही भागमा नै गहिरो र गम्भीर चोटपटक लागेको पोष्टमार्टमको रिपोर्टमा उल्लेख गर्नुले आशंका गर्न सकिने माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले बताए ।

मृतक यादव माओवादी केन्द्रनिकट थिए । उनले यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्रबाट नै निर्वाचित भएका थिए ।

छानबिन गर्न माग

माओवादी केन्द्रले उनको मृत्यु रहस्यमय भएको भन्दै प्रशासनलाई अनुसन्धान गर्न दबाब्व बढाएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र महोत्तरीले वडा अध्यक्ष यादव नियोजित रुपमा हत्या भएको दाबी गरेको थियो । 

पार्टीका महोत्तरी  इन्चार्ज तथा पोलिटब्युरो सदस्य राजु खडकाका अनुसार मृतक यादवको मृत्यु लेनदेन र राजनीति प्रतिशोधसँग जोडिएको छ । मृतक यादवको निधनले गम्भीर शंकाहरु उब्जाएको बताउँदै सुक्ष्म अध्ययन गर्दा हत्या भएको नै प्रतित हुने उनको भनाइ छ । 

घटनास्थलको प्रकृति हेर्दा हत्या नै भएको दाबी गरेको माओवादीले हत्या भएको दाबीलाई पुष्टि हुने विभिन्न आधार देखाएको छ । 

मोटरसाइकल ठोकिएको स्थान र मोटरसाइकलको उचाई नमिल्नु, ठोकिएको स्थानमा कुनै दाग नदेखिनु, शवको प्रकृति हेर्दा कसैले सुताएजस्तो देखिनु, जुत्ता, मोबाइल र पछाडिको सिटको अवस्था हेर्दा सुनियोजितजस्तो देखिनु, मोटरसाइकल ठोक्किएको र लडेको अवस्था नमिल्नु छातीमा गहिरो चोट लागेको भनिए पनि कपडामा कुनै घर्षण नदेखिनु, टाउको र छातीमा एकैपटक चोट लाग्नु र रातको ११ बजे मृतक यादवको मोबाइलमा शकास्पद फोन आउनुजस्ता आधार देखाउँदै माओवादीले उनको हत्या नै भएको नै जिकीर छ । 

मृतक यादवको तिघ्रातर्फ पाइन्टमाथि बुटले हानेकोजस्तो निशान र निलडाम देखिएको माओवादी मधेश प्रदेश संसदीय दलका नेता भारत साहले बताए ।

पोष्टमार्टम गर्ने कार्यमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री लिलामणि पोखरेलले मृतक यादवको छातीमा ५० एमएल आन्तरिक रगत बगेको र टाउको, छातीमा एकैपटक चोट लाग्नुले दुर्घटना नभई शतप्रतिशत हत्या नै भएको दाबी गरे ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update