Odapalika - The Fourth Estate - चौथो अंग
पहिरोले बाजुराको कुवाड़ी नदी थुनियो, ४ सय घर जोखिममा 

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका-२ स्थित कुवाडी नदी पहिरोले थुनिएको छ । शुक्रबार बिहान साढे १० बजेबाट पहिरोले कुवाडी नदी थुनिएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । 

‘बिहान साढे १० बजे कुवाडी नदी थुनिएको हो । पहिरो खसेर ड्याम लगाएको जसरी थुनिएको छ,’ उनले भने । 

नदी थुनिएलगत्तै सार्वजनिक सूचना निकालेर तटीय क्षेत्रमा बसोबार गरेकालाई सुरक्षित स्थानमा जान भनिएको र यसबारे प्रहरीदेखि प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको उनले बताए । 

पहिरोले नदी थुनिएसँगै बाजुरा र हुम्लाको केही स्थानीय तहका करिब चार सय घर जोखिममा परेका उनले जानकारी दिए । नदी एकैपटक खुलेमा ठूलो धनमालको क्षति हुने उनले जानकारी दिए । 

सार्वजनिक सूचना र प्रहरीमार्फत तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजान बिहानैबाट पहल भएकाले मानवीय क्षति हुने सम्भावना भने नरहेको उनले बताए । तर, त्यस क्षेत्रमा रहेका धनमान सार्न भने असहज भएकाले नदी एकैपटकमा खुलेमा ठूलो क्षति हुने अध्यक्ष मल्लले जानकारी दिए । 

नदी थुनिएर ठूलो ड्याम भएको र अहिले ओभरफ्लो भएर पानी बग्न थालेको उनले बताए । ‘ओभरफ्लो भएर पानी बग्न थालेको छ । तर, ठूलो ड्याम भएर जम्मा भएको पानी एकैपटक खुलेमा भने ठूलो क्षति हुनसक्छ,’ अध्यक्ष मल्लले वडापालिकालाई जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update