Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारीलाई ३ मुक्का हानेर घाइते बनाउने उपमेयरविरुद्ध किटानी जाहेरी 

काठमाडाैँ । मुसिकोट नगरपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारीलाई कार्यस्थलमै प्रवेश गरेर ३ मुक्का हानेर घाइते बनाउने उपमेयर विमल कुमार पुनविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् । 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुकुमपश्चिमका जिल्ला अध्यक्षसमेत रहेका उपमेयर पुनले त्रिभुवन जनता माविको लेखा विषयका शिक्षकको लागि विद्यालयमै प्रश्नपत्र टाइप गरिरहेका शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीलाई कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले प्रहरीमा जाहेरी दर्ता गरेका छन् । 

mus1693121618.jpg

शनिवार लेखा विषयका शिक्षक छनौटका लागि विद्यालयमै प्रश्नपत्र टाइप गरिरहेका वेला आफुलाई जानकारी नै नदिइ परीक्षा सञ्चालन गरेको भन्दै उपमेयरले प्रश्नपत्र बनाइरहेका ओलीमाथि हातपात गर्नुका साथै गाली गलौज गरेका थिए । 

उपमेयरको यो कदमविरुद्ध नगरपालिकाका सम्पूर्ण कर्मचारीले काम ठप्प पार्दै नगरपालिका कार्यालयको मुल गेटमै ताला लगाइदिएका छन् । 

उपमेयरमाथि कारवाही हुनुपर्ने भन्दै विज्ञप्तिमार्फत उनीहरुले विभिन्न माग राखेर आन्दोलनसँगै कानुनी लडाइ थालेका हुन् । 

हेर्नुहोस कर्मचारीको विज्ञप्ति 

musikot1693121020.jpg

के भएको थियो ?

शुक्रवार सदरमुकाम खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा लेखा विषयको शिक्षक छनौट गर्न परीक्षा संचालन गरिएको थियो । ३ जनाले आवेदन दिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानअध्यापक, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्कासहितको टोली प्रश्नपत्र बनाइरहेका बेला उपमेयर विद्यालयमा प्रवेश गरे । 

मेयर महेन्द्र केसीले दिएको जानकारी अनुसार आफुलाई जानकारी नगराइ परीक्षा सञ्चालन गरेको भन्दै उपमेयरले ओलीले प्रश्नपत्र टाइप गरिरहेको ल्यापटप थुतेर फाले । त्यसपछि ओलीलाई मुक्काले हान्दै अलि पर प्रमुख प्रशासकीय अधिकृत बसेको कुुर्सीसम्म घिसार्दै लगे । यो क्रममा ओली सामान्य घाइते भएका छन् । 

उपप्रमुख पुन पार्टीको केन्द्रीय कमिटी बैठकमा भाग लिन काठमाडौँ आएका थिए । उनी बिहीबार साँझमात्र जिल्ला फर्किएका थिए । आफुलाई जानकारी नगराइ परीक्षा लिएको भन्दै आक्रोसित भएका उपमेयरले त्यसपछि मेयरसँग एकलौटी गरेको भन्दै आक्रोस पोखेको मेयर केसी बताउँछन् । 

कर्मचारीहरुले भने उपमेयरमाथि कारवाही नभइ काम नगर्ने भन्दै तालाबन्दीसँगै किटानी जाहेरीसमेत दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update