काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधि वितरण गरिरहेको छ । बबरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा केन्द्र स्थापना गरिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने महानगरपालिकाको नीतिअनुरुप केन्द्र स्थापना गरिएको जानकारी दिँदै आरोग्य जीवन स्वर्णिम योजनाका फोकल पर्सन तथा वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले चालु आर्थिक वर्षमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवाका लागि निःशुल्क वितरण गर्न २३ प्रकारका आयुर्वेद औषधि तोकेको छ । यसमध्ये केन्द्रबाट २० प्रकारका औषधि वितरण गर्ने गरिएको छ । केन्द्रका वैद्य निरीक्षक मञ्जुश्री ठाकुरका अनुसार साउन महिनाभरिमा ७२० जनाले निःशुल्क औषधि लिए ।
सबैभन्दा धेरै ग्याष्ट्रिकका लागि औषधि माग हुने गरेको उनको भनाइ छ । यसपछि पिनास र बाथ रोगका बिरामी धेरै आएका छन् ।
केन्द्रमा वैद्य निरीक्षक ठाकुरसँगै वरिष्ठ वैद्य पार्वती रावल कार्यरत छन् । यहाँ आएर परामर्श गरेको, औषधि लिएको कुनै पनि शुल्क लाग्दैन । वैद्य रावल भन्छिन्, ‘आयुर्वेद पूर्वकर्म सेवा सञ्चालन गर्ने तयारीमा छौँ ।’
पूर्वकर्म, निःशुल्क औषधि वितरणसहित केन्द्रबाट आयुर्वेद चिकित्सकसहितको नियमित ओपिडी सेवा, अकुपङ्चर सेवा, योग परामर्शसहित आरोग्य जीवनसँग सम्बन्धित परामर्श र स्वास्थ्य प्रवर्धन सेवा वितरण गर्ने तयारी छ ।
आधारभूत स्वास्थ्य सेवामा नागरिकको निःशुल्क पहुँचलाई नेपालको संविधानको मौलिक हकमा सुनिश्चित गरिएको छ । यसमा आयुर्वेद र वैकल्पिक चिकित्सा सेवा पनि पर्दछ । महानगरपालिकाले गुणस्तरीय निःशुल्क वैकल्पिक चिकित्साको प्रवर्धन गर्ने नीति लिएको छ ।