Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले दियो कुशे औँसीको दिन सार्वजनिक बिदा 

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले कुशे औँसीको दिन सार्वजनिक बिदा दिएको छ । यस वर्षको कुशे औँसी भोलि भदौ १७ गते सोमबार परेको छ । 

सोमबार कुशे औँसीको अवसरमा सार्वजनिक बिदा दिएको मेयर दिपक कुमार रिसालले जानकारी दिए । यस दिन नगर कार्यपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरु र शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए । 

सो नगरपालिका क्षेत्रमा पर्ने गोकर्णेश्वर मन्दिरमा कुशे औँसीका दिन मेला लाग्ने गर्छ । देशभरका मानिस कुशे औँसीका दिन पितृलाई तर्पण दिने गर्छन् भने भक्तजनहरु गोकर्णेश्वर मन्दिरको दर्शन गर्न आउने गर्छन् । 

भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसीका दिन हरेक वर्ष गोकर्णेश्वर नगरपालिका वडा नं.–४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा े मेला लाग्ने गर्छ । 

यस दिन पिता दिवंगत भएका छोराछोरीले गोकर्णेश्वर मन्दिरमा गएर तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update