Odapalika - The Fourth Estate - चौथो अंग
पालिका अध्यक्ष काठमाडौँ घुम्दै, भिमसेनका अभिभावक भने नगरपालिका थुन्दै

काठमाडौँ । गोरखाको भिमसेनथापा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । पालिकाको शिक्षक दरबन्दी कटौती गर्ने विवादित निर्णयको विषयमा आइतबारको निर्धारित छलफलमा पालिका अध्यक्ष लोकप्रसाद बन्जरा, उपाध्यक्ष अमृता देवी वस्ती र प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी उपस्थित नभएपछि अभिभावकहरुले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

भिमसेन थापा गाउँपालिका– १, मसेलस्थित दुल्लभ माध्यमिक विद्यालयको हाल भइरहेको विज्ञान विषयको मावि दरबन्दी कटौती गर्नै पालिकाको निर्णय विवादमा परेको छ ।  विद्यालयको आवश्यकता नै नबुझी पालिकाले दरबन्दी कटौती गरेको भन्दै अभिभावकले विरोध जनाएका छन् । 

कार्यपालिकाको बैठकले शिक्षक दरबन्दी कटौती गरेपछि आइतबार अभिभावकले पालिकामा तालाबन्दी गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख यानबहादुर नेपालीले वडापालिकालाई जानकारी दिए । ‘कार्यपालिकाले दुल्लभ माध्यमिक विद्यालयको शिक्षक दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो । यसप्रति अभिभावकले विरोध जनाएका छन् । यस विषयमा आज छलफल गर्ने भनिएको थियो । तर, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत उपस्थित नभएपछि उहाँहरुले अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्नु भएको हो,’ उनले भने । 

आइतबारका लागि तय गरेको छलफलबारे अध्यक्ष बन्जरा जानकार थिए । तर, छलफल छल्न उनी काठमाडौँमा बसे । ‘तालाबन्दीबारे मलाई जानकारी छैन । म अहिले (आइतबार अपरान्ह पौने ५ बजे) काठमाडौँबाट जाँदै छु,’ अध्यक्ष बन्जराले वडापालिकालाई भने । 

अध्यक्ष बन्जरा नै छलफलमा सहभागी नहुने भएपछि उपाध्यक्ष  वस्ती र प्रमुख प्रशासकीय अधिकृत अधिकारी पनि उपस्थित भएनन् । शिक्षक र अभिभावकको माग र आवाजलाई पालिकाले बेवास्ता गरेको छ । समस्या समाधान गर्ने भन्दा पनि बेवास्ता गरेर अघि बढ्ने संकेत पालिकाले लिएको देखिन्छ । ‘उहाँहरु (अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत) छलफलमा उपस्थित हुनु भएन,’ शिक्षा प्रमुख नेपालीले भने, ‘अभिभावकको आवाजलाई इग्नोर गरेको हो कि भन्ने अभिभावकको बुझाइ छ ।’ 

यसबारे सोमबार फेरि छलफल हुने उनले जानकारी दिए । उक्त छलफलमा अध्यक्षसहित सबै सहभागी हुने अपेक्षा शिक्षा प्रमुख नेपालीले बताए ।  
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update