Odapalika - The Fourth Estate - चौथो अंग
मुसिकोटका उपप्रमुख भन्छन्ः कर्मचारी कुटेको छैन, अनियमितता रोक्न खोजेको हो 

रुकुम पश्चिम ।  मुसिकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुनले कर्मचारी माथि हातपात गरेको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । 

 पत्रकार सम्मेलन गर्दै उपप्रमुख पुनले नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात गरेको कर्मचारकिो दाबी झुटो भएको बताए । 

त्रिभुवन जनता मावि खलंगाको शिक्षक र कृषि प्राविधिकको परीक्षा रोक्न भनेको तर शाखा प्रमुख ओलीमाथि हातपात नगरेको भन्दै उनले यसलाई आर्थिक चलखेलसँग जोडेका छन् । 

याे पनि...

कर्मचारीलाई ३ मुक्का हानेर घाइते बनाउने उपमेयरविरुद्ध किटानी जाहेरी

‘नगरपालिकाले शिक्षक, कर्मचारी नियुक्ति गर्ने प्रक्रियामा व्यापक जनगुनासो छ, लाखौं पैसा लिएर शिक्षक, कर्मचारी राख्ने गरिएको गुनासो व्यापक रुपमा छ, यसपटक पनि सोही गुनासो मैले सुनें, परीक्षा रोक्नुहोस् यसमा थप छलफल आवश्यक छ भन्दा उहाँहरुले मान्नुभएन, त्यसपछि म केही ठुलो स्वरले बोलेको त हुँ तर हातपात भने गरेको होइन,’ उनले भने । 

आर्थिक चलखेल र आफ्ना मान्छेहरुलाई अवैधानिक रुपमा नियुक्त गर्नका लागि परीक्षा संचालन गर्न लागिएको भन्दै उनले थपे, ‘यसअघि संचालन भएका परीक्षामा पनि व्यापक रुपमा आर्थिक चलखेलको गुनासो आएको  । अहिले पनि आर्थिक चलखेल र आफ्ना मान्छेलाई राख्ने गरी अवैधानिक रुपमा परीक्षा संचालन गर्न लागेको देखेपछि परीक्षा रोक्न भनेको हुँ ।’ 

जनताको काममा महिनौसम्म बैठक नबस्ने, छलफल नगर्ने तथा आफ्ना स्वार्थ पुरा गर्न भने शनिबार सार्वजनिक बिदाको दिनपनि परीक्षा संचालन गरिएको भन्दै उनले आक्रोस पोखे । 

खलंगाको त्रिभुवन जनता माविको कार्यालय संचालन तथा लेखा व्यवस्थापन विषयको शिक्षक र कृषि तर्फका प्राविधिक नियुक्तिका लागि नगरपालिकाले आज परीक्षा तोकेको थियो । घटनापछि भने उक्त परीक्षा रोकिएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update