Odapalika - The Fourth Estate - चौथो अंग
पर्यटन प्रवद्र्धनमा जुट्यो खिजीदेम्बा गाउँपालिका, सगरमाथा आरोहण गर्ने ४६ जनालाई सम्मान

काठमााडौँ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको पर्यटन विकास, प्रचारप्रसार, सम्बद्र्धन र प्रबद्र्धनका साथै पर्यटन क्षेत्रको दिगो विकासमा विशेष जोड दिएको छ ।

गाउँपालिकाले सो गाउँपालिका तथा ओखलढुंगा जिल्लाबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ४६ जना आरोहीलाई सम्मान पनि गरेको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गरी गाउँपालिकाले सो सम्मान गरेको हो ।

गाउँपालिकाले ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ खुन्दुर्के निवासी दोर्जी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पा, सबैभन्दा कान्छो उमेरमा सगरमाथा आरोहण गर्ने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्धय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्बा २ नस्पु निवासी गेल्जे शेर्पालाई सम्मान गरिएको छ ।

यस्तै, ओखलढुंगा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्बा ९ का भीरखर्कका शुभराज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गर्यो ।  

त्यस्तै, खिजीदेम्बा गाउँपालिका, ओखलढुङ्गाको लोगो अंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सन् २०२४ मे २१ का दिन विहान ६ः३० बजे फहराई विश्व माझ खिजीदेम्बा गाउँपालिकालाई चिनाई प्रशंसनीय र कदरयोग्य काम गरेको भन्दै खिजीदेम्बा ६ भित्ते निवासी कुङ्गा शेर्पालाई पर्यटन सद्भावना दूत घोषणा गरी आपसी सम्झौता समेत सम्पन्न भयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शेर्पाहरुको शाहसकै कारण विश्वको सर्वाेच्च शिखर सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताए । डोरी टाङ्नेदेखि आरोहीलाई शिखरमा पुर्याउनेसम्मको काम शेर्पाहरुले नै गर्ने गरेको मन्त्री पाण्डेले स्मरण गरे ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाबाट संघीय सांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, संविधानसभा सदस्य तथा एमाले नेता यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रदीप कुमार सुनुवार, खिजीदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेदबहादुर रोक्कालगायतको उपस्थिती थियो ।

सफल आरोही तथा पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरुले आगामी दिनमा खिजीदेम्बालाई पर्यटकमय बनाउन र नीति निर्माण तहबाट समेत गाउँपालिकाको पर्यटन विकासमा सघाउ पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना भएको धारणा राखे । आगामी दिनमा अन्य क्षेत्रमा कीर्तिमान तथा ख्याती कमाएका व्यक्तित्वहरुलाई समेत समेट्दै सम्मान तथा अपनत्व महशुस गर्ने खाले कार्यक्रम आयोजना गर्दै जाने प्रतिवद्धता गाउँपालिकाले गरेको छ ।

कृषि, जलस्रोत र पर्यटनबाट खिजीदेम्बावासीको आर्थिक अवस्था उठ्ने निष्कर्षका साथ गाउँपालिकाले बजेट निर्माण गरी कार्यान्वयन गरिरहेको र सरकारले पहिचान गरेको १०० गन्तव्य मध्ये खिजीदेम्बाका दुई वटा पर्यटकीय स्थलहरु समेत सूचिकृत भएको सन्दर्भमा गाउँपालिकाको पर्यटनको दिगो विकास र उन्नतीका लागि सबै तहको सरकार  समेत ध्यानाकर्षण गराउन संघीय राजधानीमा कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update