Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी ठगी छानविन समितिको म्याद थपिदै, अरु के गर्दैछ आजको संसदले ? 

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्तविधेयक प्रमाणीकरण सम्बन्धीपत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

यस्तै, सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने संघीय संसद सचिवालयले जनाएको छ । 

बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नेछन् ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update