Odapalika - The Fourth Estate - चौथो अंग
वडा अध्यक्षको मृत्यु रहस्यमय : सीआईबीबाट अनुसन्धान गर्न माग, प्रचण्डलाई गुहारे नेताहरुले 

काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको मृत्युबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट गराउन माग गरिएको छ । 

यही भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा यादवको शव फेला परेको थियो । उनको हत्या भएको आशंका गर्दै सीआईबीबाट अनुसन्धान गर्न माग गरिएको हो । 

मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरूले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष यादवको मृत्युबारे छानबिनका लागि सहयोग गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेसका नेता महेन्द्र कुमार राय, माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल र भरत साह, जसपा नेपालका नेता डा. सुरेन्द्र कुमार यादव र मृतकका परिवारका सदस्यले अध्यक्ष प्रचण्डलाई सो घटनाका सम्बन्धमा सीआईबीबाट अनुसन्धान गराउन पहल गरिदिन आग्रह गरेका हुन् । 

उनीहरुले शंकास्पद व्यक्तिलाई प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको भन्दै सीआईबीबाटै छानविन हुनुपर्ने माग गरेका हुन् । जवाफमा प्रचण्डले आफू यस विषयमा गम्भीर भएको र आवश्यक पहल र सहयोग गर्न बताए । 

भदौ ९ गते बिहान मृत भेटिएका यादवको मृत्युको कारण उनी सवार मोटसाइकल दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो । तर, घटनास्थलको प्रकृतिको विश्लेषण र पोष्टमार्टमको रिपोर्टले उनको मृत्यु रहस्यमय बनेको हो । 

दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडीको भागमा क्षति पुग्नु, मृतकको तिघ्रा र छातीमा निलडाम देखिनु, जुत्ता फुक्लिएको देखिए पनि खुट्टामा कुनै चोटपटक नदेखिनुजस्ता आधारले उनको मृत्यु शंकास्पद र रहस्यमय बनेको मृतकका आफन्तले बताउँदै आएका छन् । 

पोष्टमार्टम रिपोर्टले समेत मृत्युको मुख्य कारण छाती र टाउकोमा गम्भीर चोट लाग्नुलाई आधार बनाएको छ ।

छातीमा केही निलडामजस्तो देखिनु र सोही भागमा नै गहिरो र गम्भीर चोटपटक लागेको पोष्टमार्टमको रिपोर्टमा उल्लेख गर्नुले उनको हत्या भएको आशंका गर्न सकिने पीीडत पक्षले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update