Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले भौगोलिक सूचना प्रणाली विज्ञलाई बेवास्ता गरेपछि...

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले गत १९ साउनमा भौगोलिक सूचना प्रणाली विज्ञ नियुक्तिका लागि विज्ञापन गर्यो । तर विज्ञापनमा भूगोल विषय अन्तरगत पर्ने यो विषयका विद्यार्थीलाई आवेदन दिने कुनै सर्त राखिएन । 

सर्त नराखिएपछि रुष्ट बनेको त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई ज्ञापन पत्र वुझाउदै असन्तुष्टि जनाएको छ । 

उसले कागेश्वरीले जस्तै देशभरका सबै स्थानीय तहमा राखिने भौगोलिक सूचना विज्ञ भूगोल विषय अध्ययन गरेका मात्र हुने भन्दै आगामी दिनमा यस्तो नगर्न भनेको छ । 

गत ३१ असोनमै विभागले मन्त्रीलाई ध्यानाकर्षण गराए पनि संघीय मामिला मन्त्रालयले भने भूगोल विभागलको आपत्तिसहितको पत्र बल्ल देशभरका स्थानीय तहमा पठाउँदै सूचना सच्याउने आशयसहित पत्र लेखेको छ । 

नेपालमा २०५० सालदेखि भौगोलिक सूचना प्रणालीका विषयमा अध्यययन अध्यापन हुँदै आएको भन्दै विभागले विगतमा पनि स्थानीय तहको भू उपयोग र योजना तर्जुमाका सबै काम त्रिविबाट स्नातकोत्तर र स्नातक गरेका विद्यार्थीबाटै हुँदै आएको स्मरण समेत गराएको छ । 

आगामी दिनमा कागेश्वरी मनोहाराले जस्तै भौगोलिक सूचना प्रणाली विज्ञ राख्दा भूगोल विषयमा मात्र अध्ययन अध्यापन हुने यो विषयका विज्ञलाई नछुटाउन त्रिविको भूगोल विभागले आग्रहसमेत गरेको छ । 

मन्त्रालयले विभागको यो ध्यानाकर्षणलाई गम्भीर रुपमा लिदै देशभरका स्थानीय तहलाई भौगोलिक सूचना प्रणाली विषय अध्ययन गरेका विद्यार्थीलाई सेवा अवसरबाट नछुटाउन आग्रह गरेको हो । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update