Odapalika - The Fourth Estate - चौथो अंग
पोडवे संचालन गर्न नसकेका काठमाडौका स्थानीय तहहरु यातायात प्रणाली सुधार्न एकजुट

काठमाडौं । काठमाडौँ उपत्यकाका स्थानीय तहहरु सार्वजनिक यातायात प्रणाली सुधार्न फेरि एकजुट भएका छन् । 

पछिल्लो समय विकास भएको सार्वजनिक यातायातको सबैभन्दा उपयुक्त प्रविधि पोडवे संचालनको प्रयास विफल भएको केही समयपछि काठमाडौँ उपत्यकाका सबै स्थानीय तहहरु एकजुट भएर समस्या समाधानमा केन्द्रीत भएका हुन् ।

नयाँ के भयो ?

काठमाडौँ उपत्यकाका सबै स्थानीय तहहरु सार्वजनिक यातायात सुधार्न एकजुट भएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको संयोजकत्वमा उपसमिति गठन गरी सम्बन्धित क्षेत्रका सरोकारवालाहरुसँग समन्वय गर्ने पहल थालिएको हो ।

गत शुक्रबार काठमाडौँ महानगर, ललिपुर महानगर तथा अन्य स्थानीय तहहरुका प्रमुखहरु सहभागी भएको बैठकले यस्तो उपसमिति गठन गर्ने निर्णय गरेको चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले जानकारी दिए ।

‘शुक्रबार काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुखहरु बसेर सार्वजनिक यातायातमा कसरी सुधार ल्याउन सकिन्छ भनेर छलफल गरेका थियौं । त्यो छलफलले काठमाडौँ महानगरका प्रमुख बालेन शाहको संयोजकत्वमा उपसमिति गठन गरेर सरोकारवाला पक्षहरुसँग समन्वय गरी समस्या समाधान गर्ने निर्णय भएको छ,’ मेयर गिरीले वडापालिकासँग भने ।

काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् र सार्वजनिक यातायात प्राधिकरणमार्फत सार्वजनिक यातायात सुधारको पहल थालेका हुन् ।

उपसमितिमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायत सदस्य छन् ।

सो उपसमितिले सडक विभाग, ट्राफिक, यातायात व्यवस्था विभाग जस्ता सरोकारवाला निकायसँग समन्वय गरी सार्वजनिक यातायात सुधार गर्ने पहल गर्नेछ । स्थानीय तहहरुले यातायातमा जिआइएस सर्भिस, स्मार्ट ट्राफिक मनिटरिङ सिस्टम, एकीकृत एप्लिकेसन निर्माण, तथ्य तथा तथ्यांक संकलन, रुट पुनरावलोकन, सार्वजनिक यातायात सञ्चालन मार्गनिर्देशन तयारी, अनुसन्धानमूलक कार्यक्रम सञ्चालनलगायत काम गर्न यो पहल गरेका हुन् ।

चलाउन नसकेको पोडवे

काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले सार्वजनिक यातायातको सुधार गर्नको लागि पोडवे संचालन गर्ने निर्णय पनि गरेका थिए । यसअघि नै भएको सो निर्णय कार्यान्वयन गर्न भने उनीहरुले सकेका थिएनन् ।

podway-at-kathmandu-valley-1725438652.jpg
‘सार्वजनिक यातायातको अधिकार संघ सरकार अन्तरगत भएकोले हामीले चाहेर पनि पोडवे संचालन गर्न सकेका थिएनौं । अहिले भने भएकै संरचना प्रयोग गरी सार्वजनिक यातायात सुधार गर्ने भनेको र सरोकारवाला सबैसँग समन्वयन गरिने भएकोले समस्या आउँदैन होला,’ काठमाडौँ उपत्यकाकै अर्काे एक पालिकाका प्रमुखले भने ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update