Odapalika - The Fourth Estate - चौथो अंग
एमालेसँगको ‘टसल’पछि मन्त्रीले रद्ध गरे प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जीतपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिदिएका छन् । 

गत १० असारमा बजेट ल्याउने बेलादेखि स्थानीय स्तरमा एमाले निकट जनप्रतिनिधिसँग टसल गरिरहेकी काफ्लेको १७ जुलाई अर्थात एक सातापछि हुन लागेको अमेरिका भ्रमण रद्ध भएको हो । 

काफ्लेलाई ६ साउनमा मन्त्रालयले अमेरिकामा हुने पव्लिक फाइनान्स मेनेज्मेण्ट एण्ड फिस्कल डिसेन्ट्रलाइजेसन  विषयक तालिममा सहभागी हुन अनुमति दिएको थियो । 

तर मन्त्रालयसँगको टसल र स्थानीय स्तरमा एमाले तथा कांग्रेसका जनप्रतिनिधिसँगको टसलपछि उनको भ्रमण मन्त्रीले रद्ध गरिदिएका हुन् । 

मन्त्रीले मंगलवार उनको भ्रमण रद्ध गरिदिएका हन् । बजेट ल्याउने विषयमा विवाद भएपछि एमाले, कांग्रेससहितका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । 

बहिष्कार पछि बैठकमा गणपुरक संख्या पुग्न सकेन । मेयर राजन पौडेलले नियमावलीमा भएको व्यवस्थालाई समाउँदै तेस्रोपटक डाकिएको बैठकमा पनि गणपुरक संख्या नपुगे तत्काल कायम २५ प्रतिशत सदस्य उपस्थित भए पनि गणपुरक मानिने व्यवस्थाको प्रयोग गरेर नगरसभामार्फत बजेट पास गराएका थिए । 

यसमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले मेयरलाई सहयोग गरेपछि स्थानीय जनप्रतिनिधिको दबावमा काफ्लेलाई जीतपुर सिमराबाट सरुवा गरियो । तर उनी अदालत पुगेर अन्तरिम आदेश लिएर जीतपुरसिमरामै बसिन् । 

संघीय मामिला मन्त्रालयले गरेको सरुवा विरुद्ध अदालत गएको र माओवादीका तर्फबाट बिजयी मेयर पौडेललाई साथ दिएर बहुमत जनप्रतिनिधिलाई पेलेको भन्दै मन्त्रीले उनको अमेरिका भ्रमण रद्ध गरेका हुन् ।

अन्तरिम आदेशमार्फत सरुवा कार्यान्वयन नगर्न आदेश लिएर उपमहानगरपालिका मा पुन थमैती भएपछि उनले हालैमात्र १४ जना वडा सचिवहरुको सरुवा गरेकी छन् । 

सो सरुवा पनि विवादमा छ । आफु र मेयरलाई असहयोग गर्ने वडाका सचिव सरुवा गरेर अमिनलाई खटाइएको भन्दै नगरपालिकामा काफ्ले र मेयर पौडेलको चर्को विरोध हुँदै आएको छ । 

वडा नम्बर ८ का वडाअध्यक्षले त कामै गर्न नसक्ने वडा सचिव पठाएपछि जन्मदर्ता, मृत्युदर्तादेखि  सामाजिक सुरक्षा भत्ता वितरणसमेत प्रभाावित भएको भन्दै मेयर, अधिकृत र स्थानीय जनप्रतिनिधिसँग हारगुहार गरिरहेका छन् । 

यो प्रकरणपछि प्रमुख प्रशासकीय अधिकृत मोवाइल अफ गरेर सम्पर्क बाहिर छिन् भने मेयर काठमाडौँमा छन् । 

458110796_8446385458746963_7660538507443218132_n-1725447268.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update