Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले गर्‍यो पलेशा गोवर्धनलाई सम्मान, ५ लाख रुपैयाँ प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । 

बुधबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। 

त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई तीन लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेशाकी आमा पनिता गोवर्धन र बुबा प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो । 

पलेशाले गएको शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् । पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकी थिइन् । 

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गरेकी थिइन् । पेरिस पाराओलम्पिकमा नेपालबाट ३ जना खेलाडीको सहभागिता थियो । कार्यक्रममा सहभागी खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

यसअघि बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थल हुँदै नगर परिक्रमा गराइएको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update