Odapalika - The Fourth Estate - चौथो अंग
३२ वर्षपछि फोहोरबाट पैसा कमाउन थालेको व्यास नगरपालिका 

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले श्रातमै कुहिने र नकुहिने फोहोर बर्गीकरण गर्न थालेको छ । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकामा हालसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्र छैन ।  नगरपालिका बनेको ३२ वर्ष भइसकेको छ ।

पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको हो ।  कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने काम भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपाने बताउँछन् । 

नगरपालिकाले ६ महिनाअघि सरसफाइविज्ञका रूपमा कृष्ण भण्डारीलाई नियुक्त गरेको थियो । उनकै सल्लाहमा कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो । 

नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लाष्टिक, कागज जस्ता चिजहरू छुट्टाएर त्यसलाई मेसिनले कम्प्रेस गरेर नगरले व्यवस्थापन गर्न थालेको छ । 

सरसफाइविज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहेका छन् । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहर छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेको भनाइ छ । 

फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि वडा नं १३ मा जग्गा खरिदको प्रक्रियासमेत अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने कामसमेत गरिरहेको छ । बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर सङ्कलन हुँदै आएको छ । बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update