Odapalika - The Fourth Estate - चौथो अंग
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक उपमेयरसहित ८ वडा अध्यक्षले बहिस्कार गरे

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको बैठक उपमेयर राजेश बानियाँसहित आठजना वडाध्यक्षले बहिष्कार गरेका छन् ।  

बिहीबार बोलाइएको बैठकलाई उपमेयर बानियाँसहित आठजना वडा अध्यक्षले बहिस्कार गरेको उपमहानगरका प्रवक्ता तथा हेटौंडा– १ का वडाध्यक्ष सविन न्यौपानेले वडापालिकालाई जानकारी दिए । 

आर्थिक वर्ष २०८१/०८२ को आर्थिक ऐनले तय गरेको करको दरप्रति उद्योगी व्यवसायीले विरोध जनाउँदै आएका छन् । करको दर समायोजन गर्नका लागि विशेष नगरसभाको बैठक बोलाउने विषयमा छलफल गर्न डाकिएको कार्यपालिका बैठक उपमेयरसहित वडा अध्यक्षहरुले बहिस्कार गरेका हुन् । 

बैठक बहिस्कार भएपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक स्थगित गरेकी छन् । हेटौंडा उपमहानगरको  २९ सदस्यीय कार्यपालिकामा बिहीबारलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित थिए ।

आर्थिक विधेयक पारित भएर ऐन भइसकेपछि अब करको दर परिवर्तन हुन नसक्ने प्रवक्ता तथा हेटौंडा– १ का वडाध्यक्ष न्यौपानेले जानकारी दिए । ‘अब करको दर परिवर्तन गर्ने कुरा कानुनविपरीत हुन्छ । आर्थिक विधेयक पारित भइसकेको छ । यसबारे केही निर्णय गरिरहनु परेन,’ उनले भने । 

राजस्व परामर्श समितिको संयोजकसमेत रहेका उपमेयर बानियाँले बैठक नै बहिस्कार गरेका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update