Odapalika - The Fourth Estate - चौथो अंग
तपाइँको टिकटक अझै खुलेन ? अब खुल्नेछ

काठमाडौँ । सरकारले यही भदौ ६ गते शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । यो निर्णयसँगै नेपालमा टिकट प्रतिबन्ध अघिको अवस्थामै चल्ने धेरैको अपेक्षा थियो । तर, हालसम्म पनि टिकटक औपचारिक रुपमा खुला भइसकेको छैन । अब भने टिकटक चल्नेछ । 

सामाजिक सद्भाव खलबल्याएको भन्दै गत वर्षको कात्तिक २७ गते सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, यही भदौ ६ गते शर्तसहित टिकटक खुला गर्ने नेपाल सरकारको निर्णयपछि टिकटक प्रतिनिधि काठमाडौँ आएर उक्त शर्त मान्ने बताइसकेका छन् । 

बुधबार (हिजो) टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीनजना प्रतिनिधिले नेपाल सरकारले राखेका शर्त आफूलाई मान्य हुने जानकारी गराएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर उनीहरु नेपाल सरकारले राखेका शर्तहरुबारे छलफल गर्दै आफूहरुलाई मान्य हुने जानकारी गराएका हुन् । अब यसलाई औपचारिकता दिने काम भने बाँकी छ । 

नेपाल सरकारले राखेको टिकटक नेपालमा दर्ता हुनुपर्ने, सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने सर्तलाई टिकटकका प्रतिनिधिले सकारात्मक रुपमा लिँदै प्रतिबद्धता जनाउन सकिने बताएका हुन् । 

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकका प्रतिनिधिले व्यक्त गरेको प्रतिबद्धता पत्रलाई दर्ता गरेर दूरसञ्चार प्राधिकरणलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिनेछ । 

मन्त्रालय र टिकटकका प्रतिनिधिबीच प्रतिबद्धता जनाउने सम्बन्धी औपचारिक रुपमा काम भइसकेपछि प्रतिबन्ध फुकुवा गर्ने कार्य अघि बढ्नेछ । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update