Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका ६६ प्रतिशत जनता अनलाइन सेवाको पक्षमा 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६ प्रतिशत)ले अनलाइन सेवा होस् भन्ने धारणा व्यक्त गरेका छन् । ३२७ जना अर्थात् ६३ प्रतिशत लाई महानगरपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्सबारे थाहा पाएको बताए । ४७ प्रतिशत ले निःशुल्क टोल फ्री टेलिफोन सुविधा छ भन्ने थाहा पाएको बताए । ६२ प्रतिशत ले नगरसभा र कार्यपालिकाको बैठक लाइभ आउँछ भन्ने थाहा पाएको बताए । 

महानगरपालिकामा सेवा लिएर फर्किएपछि गरिएको सर्वेक्षणका क्रममा इच्छा राख्ने सेवाग्राहीलाई फाराम भर्न दिइएको थियो । गएको साउन ३ गते सुरु भएको सर्वेक्षण १७ गतेसम्म चलेको थियो । सर्वेक्षणमा सहभागी ५१७ जनामध्ये १३४ जना अर्थात् २६ प्रतिशत  महिला र ३८३ जना पुरुष थिए । 

यसैगरी, १०६ जना अर्थात् २१ प्रतिशत  काठमाडौँ महानगरपालिकाको मतदाता थिए । गैरमतदाता ६३ जिल्लाका व्यक्तिहरू थिए । यसमा सबैभन्दा बढी रौतहटबाट ३२ जना अर्थात् ६ प्रतिशत  थिए । शैक्षिक योग्यताका हिसाबले सबैभन्दा बढी स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता भएका १८६ जना (३६ प्रतिशत ) सहभागी भएका थिए । सम्लग्नताका दृष्टिले सबैभन्दा धेरै विद्यार्थी २२३ जना (४३ प्रतिशत  ) थिए । सबैभन्दा कम दैनिक ज्यालादारी, मजदुरी गर्ने १३ जना (३ प्रतिशत ) थिए । 

सर्वेक्षणमा सहभागी भएका मध्ये १३० जना (२५ प्रतिशत ) ले मात्र काठमाडौँ महानगरपालिकाको वेबसाइट प्रायः हेर्ने कुरा बताए । २६ प्रतिशत ले अहिलेसम्म नहेरेको कुरा बताए । ३५९ जना अर्थात् ६९ प्रतिशत ले वेबसाइट हेर्नुको मुख्य कारणमा सूचना प्राप्त गर्न भन्ने जवाफ दिएका थिए । २९ प्रतिशत  सेवाग्राही वेभसाइटबाट आफू अति नै सन्तुष्ट रहेको बताए । २२८ जना (४४ प्रतिशत ) ले केही मात्रामा सन्तुष्ट रहेको विचार राखे । ४० जना (८ प्रतिशत  ) ले असन्तुष्टि व्यक्त गरे । 

सेवा प्राप्त गर्न लागेको समयका विषयमा गरिएको सर्वेक्षणमा ३२१ जना (६२ प्रतिशत ) ले  सेवाग्राहीले समयमै काम सकिएको बताए । २९६ (५७ प्रतिशत ) जनाले एक घण्टा भित्रै काम सकिएको बताए । २८९ जना (५६ प्रतिशत ) सेवाग्राहीले सेवा लिन बढीमा दुई जना कर्मचारी भेट्नुपरेको थियो । सेवाको गुणस्तरमा ३१६ जनाले राम्रो लागेको बताए । जुन कूल सहभागीको ६१ प्रतिशत  हो । महानगरपालिकाका राम्रा सेवाबारे अरुलाई पनि जानकारी गराउँछु भन्ने ४६२ जना अर्थात् ८९ प्रतिशत  थिए । 

३३१ जना अर्थात् ६४ प्रतिशत ले कार्यालयको भौतिक स्वरूप राम्रो लागेको बताए । १०८ जना (२१ प्रतिशत)ले खोजेको जस्तो सेवा नपाएकोले सेवा चित्त नबुझेको बताए । ४७ जना (९प्रतिशत) ले कर्मचारीले राम्रो व्यवहार नगरेको बताए । १६३ जना (३२ प्रतिशत ) ले सेवा चित्त नबुझेका सम्बन्धमा उजुरी गर्न चाहने कुरा बताए । 

पछिल्लो समयमा लिएको सेवाका विषयमा ५१७ मध्ये १८४ जना (३६ प्रतिशत ) ले पछिल्लो १२ महिनाभित्र सेवा लिएको बताएका थिए । सेवामा आएको फरकपनका सम्बन्धमा १३९ जना (२७ प्रतिशत) ले धेरै नै सुधार आएको बताएका थिए भने १५ जना (३ प्रतिशत)ले झन बिग्रेर गएको विचार व्यक्त गरे । 

१९७ जना (३८ प्रतिशत ) ले सेवाको पहुँचलाई सरल बनाउने, ९७ जना (१९ प्रतिशत ) ले अनलाइन सेवाहरूमा सुधार वा विकास गर्ने, ६८ जना (१३ प्रतिशत  ) ले कर्मचारीको व्यवहार सुधार्ने, ४५ जना (९ प्रतिशत  ) ले सेवाको गुणस्तर अभिवृद्धि गर्ने, ३४ जना (७ प्रतिशत  ) ले सेवा लिन लाग्ने समय घटाउने, १० जना (२ प्रतिशत  ) ले सेवाको लागत घटाउने र ४८ जना (९ प्रतिशत  ) ले अन्य सुझाव दिएका थिए ।

सर्वेक्षणले देखाएको अवस्थाका बारेमा प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भन्नुहुन्छ, ‘सर्वेक्षणले देखाएको सबल पक्षहरूलाई संस्थागत गर्दै सेवाग्राहीहरुबाट व्यक्त विचारहरूका आधारमा सुधार गर्नुपर्ने कुरालाई नीतिगत तथा कार्यक्रमिक तवरले सम्बोधन गर्दै लगिनेछ ।’ उहाँले संस्थागत सुदृढीकरणका प्रयासको विषय जोड्दै भन्नुभयो, ‘हामीले आजैबाट एकल सेवा केन्द्रको शुभारम्भ गरेका छौँ । निर्धारित समय भित्र सेवा उपलब्ध गराउन, तत्काल सेवाग्राहीको कागजातको जाँच गर्न, सम्पर्क विन्दु एउटै बनाउन, नागरिकको घरदैलोमा शासन पु¥याउन, विद्युतीय सुशासन तथा विद्युतीय साधनको उपयोग तथा व्यवहारिक प्रयोग गर्न र ईसरकारको अवधारणाको व्यवहारिक कार्यान्वयन गर्न सेवा केन्द्रको सेवा सशक्त बनाइनेछ ।’ 

आगामी वर्ष यही समयमा एउटै विधिबाट सेवाग्राही सर्वेक्षण गरी सेवाप्रवाहको स्थितिको तुलना गरिने, उहाँको भनाइ छ । सर्वेक्षण कार्यको संयोजन गर्नुभएका उपनिर्देशक प्रहलाद घिमिरेका अनुसार ३ जना कर्मचारी र ३ जना प्रशिक्षार्थी विद्यार्थीको परिचालन गरेर सर्वेक्षण कार्य सम्पन्न गरिएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update