Odapalika - The Fourth Estate - चौथो अंग
हिमा गाउँपालिकालाई साक्षर घोषणा, ९५.७२ प्रतिशत नागरिक साक्षर

जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । यो घोषणासँगै हिमा गाउँपालिका जुम्लाको पहिलो साक्षर स्थानीय तह बनेको छ ।  जुम्लाका आठ  स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको हो । 

हिमा गाउँपालिकामा ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएपछि बिहीबार साक्षर घोषणा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले वडापालिकालाई जानकारी दिए । उनका अनुसार १२ हजार ९०४  कुल जनसंख्यामध्ये १२ हजार २५६  जना साक्षर रहेका छन् । 

गाउँपालिकाको तथ्यांकअनुसार स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५, स्नातक गरेका १५५, प्रविणता प्रमाणपत्र तह उत्तीर्ण ८०० छन् । साथै  उच्च माविसम्म अध्ययन गरेका एक हजार १९६, प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका ९५० र माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका एक हजार ६४८ जना छन् । 

बालविकासतर्फ सामान्य साक्षरको संख्या ४२२ जना र पालिकामा रहेका प्रौढ जनसंख्या एक हजार ६६० जना र विद्यालय उमेरका पाँच हजार ३७० जना साक्षर रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update