Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरका इन्जिनियरसहित तीनजना घुस लिएकोमा दोषी ठहर, कैद सजाय सजाय र जरिमाना सुनाइयो

काठमाडौँ । विशेष अदालतले कास्की पोखरा महानगरपालिकाका इन्जिनियरसहित तीनजनालाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ । 

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई दोषी ठहर गर्दै कैद सजाय र जरिमानाको फैसला गरेको  छ । 

इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिमाना र आठ महिना कैद सजाय सुनाएको विशेष अदालतले घुस दिन मतियारको रूपमा काम गरेको अभियोगमा सुरजलाई ८७ हजार ५० रुपैयाँ जरिमाना र चार महिना कैद सजायको फैसला सुनाएको छ ।

साथै अदालतले अनुसन्धानका क्रममा इन्जिनियर बरालको खातामा गएको घुसबापतको २ लाख रुपैयाँ रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला गरेको छ ।

गएको चैत २८ गते घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा उनीहरुलाई घुस लिएको रकम एक लाख ५० हजारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । 

अनुसन्धानपछि अख्तियारले उनीहरुविरुद्ध गएको वैशाख २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा घुसबापतको २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ । त्यो रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला अदालतले गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update