Odapalika - The Fourth Estate - चौथो अंग
नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर सरकारी जागिर खाने इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोगमा कृषि ज्ञान केन्द्र डडेल्धुराको सव–इन्जिनियर पदमा कार्यरत लालबहादुर विकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 

उनीविरुद्ध परेको निवेदन उपर अनुसन्धान गर्दा झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको ठहर भएकाले सोमबार विशेष अदालतमा विकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

कृषि ज्ञान केन्द्र डडेल्धुराका तत्कालीन सव–इन्जिनियर (सहायकस्तर पाँचौँ) पदमा कार्यरत लाल बहादुर विकले सव–इन्जिनियर (करार) पदमा नियुक्ति लिँदा डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण–पत्र पेस गरेको देखिएको अख्तियारको दाबी छ । 

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर सव–इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले विकलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना हुन माग दाबी लिई मुद्दा दर्ता गरेको प्रवक्ता घिमिरेले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update