Odapalika - The Fourth Estate - चौथो अंग
उपसभामुख इन्दिराविरूद्ध १८८ को अंकगणित, आउला त राजीनामा ? 

काठमाडौँ । सहकारी ठगी अभियोगमा संसदीय छानविन समितिको सोधपुछको घेरामा परेको रास्वपालाई सत्ता गठबन्धन दलहरूले अर्को झट्का दिएका छन् । 

रास्वपाबाट निर्वाचित उपसभामुख इनिदरा राना मगरविरूद्ध सत्ता गठबन्धन दलले पदीय मर्यादाको दुरूपयोग अभियोगमा प्रतिनिधिसभामा प्रस्ताव दर्ता गर्दैछन् । 

यस्तो प्रस्ताव सभामा तत्काल कायम रहेका सदस्य सख्याको बहुमतले पारित भएमा उपसभामुख स्वतः पदमुक्त हुनेछिन्। 

वर्तमान सत्ता गठबन्धनसँग उपसभामुखलाई पदमुक्त गर्न दुइ तिहाइ मत छ ।  प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएका १८८ जना सांसदले रानाको पदीय मर्यदामा प्रश्न उठाएको अवस्थामा उनी स्वत पदमुक्त हुनेछिन् । 

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७९, जसपाका ७, जनमत पार्टीका ६, लोसपा नेपालका ४ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् । 

सत्ता गठबन्धनका यी सबै दलको कुल सांसद भनेको १८८ जना हो । दुई तिहाइका लागि जम्मा १८४ सांसदको समर्थन भए पुग्छ ।

रानाले पदीय मर्यदा विपरित अवैध ढंगले अमेरिका जान केही व्यक्तिहरूलाई सिफारिस गर्दै अमेरिकी दूतावासमा पत्राचार गरेको समाचारबाहिरिएपछि उनी विवादमा छिन् । 

उता रानाले भने आफुले पदबाट राजिनामा नदिने वा संसदमा आचरणका विषयमा उठेका प्रश्नमा जवाफ दिन र छलफल गर्न तयार रहेको बताएकी छन् । 

उनी आवद्ध दल रास्वपाले पनि रानाको पक्षमा डटेर सामना गर्न सांसदहरूलाई निर्देशन दिएको छ । सत्ता गठबन्धन दलले भने आजै उपसभामुखविरूद्ध आचरणमा प्रश्न उठाउँदै सभामुखसमक्ष प्रस्ताव ल्याउने तयारी गरिहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update