Odapalika - The Fourth Estate - चौथो अंग
पैसा कमाउन वडाध्यक्ष हङकङ गए, विकास र सेवा बिचल्ली भए 

काठमाडौँ । ताप्लेजुंगको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एकवर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् ।

वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८९ कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए । त्यसपछि कार्यवाहक अध्यक्षमार्फत् वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन् । 

वडा अध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दैस्थानीयवासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । वडाध्यक्षको अनुपस्थितिमा वडाका अन्य जनप्रतिनिधिले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाई भएको उनीहरुको भनाइ छ । 

गत साता स्थानीयले गाउँपालिका अध्यक्षलाई तत्काल वडाध्यक्षलाई फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग राख्दै  ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा जनताको प्रतिनिधित्व गर्ने आधारमा संविधान कार्यान्वयन गर्ने व्यक्ति गैरजिम्मेवार हुँदा कसरी विकास हुन्छ ? वडामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीविहीन अवस्था कस्तो हुन्छ ? भन्दै प्रश्न गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update