Odapalika - The Fourth Estate - चौथो अंग
रवि–धनराज ! गुट्मुट्यायौ गरिबको धन, पानीमाथि ओभानो नबन

नेपालमा बखान सहकारीबाट सुरु भएको सहकारी आन्दोलन पछिल्लो समय सुधीर बस्नेत, इच्छाराज तामाङ, जिवी राई हुँदै रवि लामिछाने र धनराज गुरुङसम्म आइपुग्दा राजनीतिक ठगीको बाली बनेको छ ।

रवि लामिछाने र धनराज गुरुङसम्म आइपुग्नुअघि सहकारी ठगी व्यावसायिक ठगीको बालीमा सीमित देखिन्थ्यो । अब सहकारी ठगी राजनीतिक ठगीको बाली बनेको हो । बाली अर्थात्, नगदे बाली, अन्न बाली, हिउदे बाली, बर्षे बाली, सहकारी ठगी बाली आदि, इत्यादि ।

रवि लामिछाने प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति छन् । सहकारी संस्थाहरुबाट अनधिकृत रुपमा रकम ल्याएर उनी प्रबन्ध संचालक रहेको ग्यालेक्सी टेलिभिजनले रकम दुरुपयोग गर्दा आफूलाई थाहा थिएन भनेर दाबी गरिरहेका छन् ।

रविको अर्काे पनि दाबी छ– मैले सहकारीबाट रकम ल्याएको प्रमाण छैन, नागरिकताको प्रतिलिपि राखिएको छैन, हस्ताक्षर छैन । यहाँ बुझ्नु पर्ने कुरा के हो भने जतिबेला सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम ल्याएर ग्यालेक्सी टेलिभिजन खोलियो, त्यतिबेला रवि लामिछाने नेपाली नागरिक थिएनन्, उनको नेपाली नागरिकता निलम्बनमा थियो, उनी नेपालका सहकारी संस्थाहरुबाट ऋण लिनको लागि योग्य थिएनन् । किनभने उनी नेपाली नागरिक नै थिएनन् ।

कानुनका अंगले उनलाई समाउन सक्ला वा नसक्ला तर ठग हुन रवि लामिछाने ।

नेपालको नागरिक नभएको बेलामा झुटा विवरण दिएर कम्पनी खोल्ने, व्यवसाय गर्ने, गरिब नेपालीले खाइनखाई जम्मा पारेर सहकारीमा राखेको रकम खाइदिने, ठगी गर्ने अनि मेरो हस्ताक्षर छैन, नागरिकता प्रयोग भएको छैन भनेर ठूला कुरा गर्दै हिँड्ने ? कानुनका अंगले उनलाई समाउन सक्ला वा नसक्ला तर ठग हुन रवि लामिछाने ।

अर्का ठग हुन धनराज गुरुङ । उनकी पूर्वश्रीमती ज्योति गुरुङले ललितपुरको मितेरी सहकारी संस्थाबाट करिब १५ करोड रुपैयाँ ठगी गरेको तथ्य हालै सार्वजनिक भएको छ । तर धनराज भन्दैछन्– मेरी श्रीमतीले सहकारी ठगेको मलाई थाहै थिएन ।

ए धनराजजी ! तिमीले बुझ्नु पर्ने कुरा के हो भने तिम्री जीवन संगीनी, अर्धाङ्गिनी १५ करोड रुपैयाँ ठगी गरेर हिँड्छिन्, तिमी आफूलाई थाहा थिएन भनेर चोखो बन्छौ ? एउटै भाडाको भात खाने, रातभर एउटै ओछ्यानमा सँगै सुत्ने श्रीमतीले गरिब नेपालीको १५ करोड ठगेको पनि चाल पाउदैनौ भने तिमी के राजनीति गरेर हिड्छौ ? श्रीमतीले यो तहको बद्मासी गर्दा पनि तिमीलाई थाहा थिएन भने तिमीले के सुशासन दिन्छौ ? तिमीले कसरी देश विकास गर्छाै ? तिमी किन राजनीति गरिरहेका छौ ?

धनराज नेपाली कांग्रेस जस्तो पार्टीको उपसभापति बन्न अयोग्य र असक्षम व्यक्ति हुन् । उनलाई उपसभापति बनाएर नेपाली कांग्रेसका १९०८ जना महाधिवेशन प्रतिनिधिले गल्ती गरे ।

धनराजजीले भने जस्तै उनकी श्रीमतीले गरिब नेपालीको १५ करोड रुपैयाँ ठगेको उनलाई थाहा थिएन भने उनी नेपाली कांग्रेस जस्तो पार्टीको उपसभापति बन्न अयोग्य र असक्षम व्यक्ति हुन् । उनलाई उपसभापति बनाएर नेपाली कांग्रेसका १९०८ जना महाधिवेशन प्रतिनिधिले गल्ती गरे । उनी प्रतिनिधिसभाको सांसद बन्न पनि अयोग्य व्यक्ति हुन् । उनलाई सांसद बनाएर स्याङ्जा–२ का ३१ हजार ४ सय ६६ जना मतदाताले गल्ती गरे । किनभने घरभित्रै भएको ठगीका बारेमा त जानकारी नहुने व्यक्तिले समाजमा कुनै योगदान दिन सक्दैन । यस्तो व्यक्ति असक्षम हो, नालायक हो । 

हुन त धनराजजीले तत्कालिन श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेद गरेको दाबी गरेका छन् । धनराजजीको यो कुतर्क ‘डेटएक्स्पायर्ड’ भइसक्यो । ठगी गरेको प्रमाणित भएका गुरु न्यौपाने, इच्छाराज तामाङहरुले पनि यस्तै सम्बन्ध विच्छेदका लिखत सार्वजनिक गरेका थिए । धनराजजी अदालतले ठग प्रमाणित गरेका गुरु न्यौपाने, इच्छाराज तामाङहरुकै जस्तो लिखतले अनुहार छोपेर आफूलाई सादगी देखाउने ढोंगमा छन् । यस्तो हर्कतका लागि उनलाई सबैले कुरीकुरी भन्दिनै पर्छ ।

सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर ।

सहकारी ठगीको रकम कम बेसी होला तर रवि लामिछाने र धनराज गुरुङ दुबैजना सहकारी ठग हुन् । ठगलाई घुमाइफिराइ भन्ने नै होइन । सिधै भन्नुपर्छ– तिमी ठग हौ, तिमीले ठगी गर्यौ भनेर । यसमा कानुनी प्रक्रियाले के भन्छ भन्ने कुरा पनि आउला । न्यायिक निरुपणमा रहेको विषयमा किटान गर्न मिल्दैन भन्ने पनि आउला । तर, एउटा मान्छे नयाँ भनिने दलको सभापति छ, नेपाली नागरिकता निलम्बनमा रहेको बेलामा म नेपाली नागरिक नै हुँ भनेर झुटा विवरण दिएर व्यवसाय गर्छ । गैरकानुनी रुपमा सहकारीको रकम दुरुपयोग गर्छ । आफू प्रबन्ध संचालक रहेको कम्पनीमा कहाँबाट पैसा आयो भन्ने मलाई थाहा थिएन भनेर दिउँसै रात पार्न खोज्छ । नेपाल बनाइदिन आएको हुँ भन्ने अभिव्यक्ति दिएर सोझा नेपालीलाई आफू भाग्य विधाता बनेको भान गराएर राजनीतिक रोटी सेक्छ । राजनीतिक सौदा गरेर एकैपटक दुई देशको पासपोर्ट प्रयोग गर्ने गैरकानूनी हर्कतबाट आफूलाई जोगाउँछ । पटक पटक गृहमन्त्री बन्छ । यस्ता व्यक्तिले कानुनी प्रक्रिया मिलाएका हुन सक्छन् । उनीहरुलाई कानुनका अंगले नछुन सक्छ । निर्दाेष प्रमाणित हुन सक्छन् । कानुन र प्रक्रिया एउटा कुरा हो, सोझो दृष्टिमै कुनै कार्य ठगी देखिन्छ भने त्यस्तो काम गर्नेलाई ठग भन्नैपर्छ । प्रस्ट नेपाली भाषामा भन्नै पर्छ– रवि लामिछाने सहकारी ठग हुन् ।

अब धनराज गुरुङको कुरा गरौं । नेपाली कांग्रेस जस्तो पार्टीको उपसभापति बनेको छ । कानुन बनाउने प्रयोजनका लागि सांसद बनेको छ । मन्त्री बनेको छ । देश बनाउने गफ चुटेको छ । सुशासनका डिङ हाँकेको छ । समाजबाद ल्याउने भाषण फलाकेको छ । अनि आफ्नै श्रीमतीले गरिब नेपालीको १५ करोड रुपैयाँ ठगेको विषय आएपछि लाज पचाएर भनेको छ– उनी थाइल्याण्ड गइरहने गरेपछि मैले उनीसँग डिभोर्स गरेको छु, उनले ठगेको कुरा त मलाई थाहै छैन, डिभोर्स गरिसकेकी श्रीमतीले ठगेको कुरा मलाई कसरी थाहा हुन्छ र ! धनराजजीले यो सोझै झुट बोलेका हुन् ।

उनकी श्रीमती ज्योतिले ठगी गरेको उनलाई थाहा थियो । त्यसबाट बच्न डिभोर्स गरिएको होला । सहकारीमा राखिएको गरिब नेपालीको रकम श्रीमतीले ठगी गर्दाको लाभ धनराजजीले पनि लिएका छन् । धनराजकी श्रीमतीले गरिबको धन ठगी गरिन् । धनराजजीले लोकतन्त्रमाथि ठगी गरे । झुट बोले । राजनीतिक बेइमानी गरे । जनताको भावनामाथि ठगी गरे । त्यसैले प्रस्ट नेपाली भाषामा भन्नै पर्छ– धनराज गुरुङ ठग हुन्, उनकी श्रीमतीले सहकारी ठगी गरिन्, धनराजले भावनात्मक ठगी गरे, राजनीतिक इमानको ठगी गरे, झुट बोले ।

त्यसैले रवि लामिछाने र धनराज गुरुङलाई भन्नै पर्ने भयो– गुट्मुट्यायौं गरिबको धन, पानीमाथि ओभानो नबन ।

तर, शंका छ, सर्वदलीय राजनीतिक सहमति हुन्छ र सहकारी ठगी गर्नेहरुले उन्मुक्ति पाउँछन् । गरिब नेपालीको धन सहकारी गठहरुले पचाउने छन् ।

सहकारी ठगीमा राजनीतिक पहुँच असाध्यै बलियो छ । देशभरका जति पनि सहकारी संस्थामा ठगी भएको छ, त्यसमा करिब शतप्रतिशत नै राजनीतिक व्यक्तिको संलग्नता छ । सहकारी ठगीको राम्रोसँग अनुसन्धान हुने हो भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका ८० प्रतिशतभन्दा बढी जिल्ला कमिटिका पदाधिकारी संलग्न भएको देखिनेछ । झुटा आश्वासन वितरण र अरुलाई गाली गलौज गरेर राजनीतिमा टिकिरहेको रास्वपाका त केन्द्र तहकै अधिकांश पदाधिकारी सहकारी ठगीमा संलग्न भएको तथ्य खुलिसकेको छ । तर, शंका छ, राजनीतिमा संलग्न सहकारी ठगलाई जोगाउने सर्वदलीय राजनीतिक सहमति हुन्छ र सहकारी ठगी गर्नेहरुले उन्मुक्ति पाउँछन् । आशा गरौं– यस्तो नहोस्, ठगलाई कानुनी कारवाही होस्, गरिब नेपालीको पैसा ठगबाट असुल गरेर फिर्ता गरियोस् ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update