Odapalika - The Fourth Estate - चौथो अंग
सडक निर्माणको माग राखेर गाउँपालिका अध्यक्षसहित सबै जनप्रतिनिधि रिले अनशनमा 

काठमाडौँ । हुलाकी सडक निर्माणको माग राखेर पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका सबै जनप्रतिनिधि मंगलबारदेखि रिले अनशन बसेका छन् ।

संघीय तथा प्रादेशिक सरकारको जिम्मेवारीमा रहेको सो सडक निर्माण गर्न माग राखेर सबै जनप्रतिनिधि रिले अनशनमा बसेको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले वडापालिकालाई जानकारी दिए । 

अध्यक्ष यादवको नेतृत्वमा सुरु भएको रिले अनशन भदौ २७ गते बिहीबारसम्म चल्नेछ । ‘विशेषगरी हुलाकी सडक निर्माणको माग राखेका छौँ । ठेक्का लागेको ६ वर्ष भइसक्यो । अझै बनाएको छैन । उक्त सडक तत्काल बनाउन माग राखेर आजबाट हामी सबै जनप्रतिनिधि रिले अनशनमा बसेका छौँ । आज, भोलि र पर्सी तीन दिन रिले अनशन बस्छौँ,’ अध्यक्ष यादवले भने । 

आफूहरुको माग सम्बोधन नभएमा आमरण अनशन बस्ने उनले जानकारी दिए । ‘भदौ २७ गतेसम्म माग पूरा भएन भने म आफैँ २८ गतेबाट आमरण अनशन बस्नेछु,’ उनले भने । 

नारायण चोकदेखि त्रिवेणीसम्मको करिब १५ किलोमिटर हुलाकी सडक निर्माण कार्य अलपत्र परेको छ । संघीय तथा प्रादेशिक सरकारले बनाउन नसक्ने हो भने स्थानीय तहलाई दिन अध्यक्ष यादवको माग छ । आफूहरुलाई जिम्मेवारी दिएमा चार महिनामै सडक निर्माण गर्ने उनको दाबी छ । 

माग पूरा गराउन संघीय, प्रादेशिक सरकार र ठेकदार कम्पनीलाई दबाब दिन अनशन बस्नुपरेको उनले बताए । यसअघि सोही माग राखेर धर्ना बस्नेदेखि ज्ञापनपत्रसमेत बुझाउँदा पनि बेवास्ता गरेपछि अनशन बस्न बाध्य भएको अध्यक्ष यादवले बताए । 

गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा संविधानसभा सदस्य विक्रम खनाल, लुम्बिनी प्रदेशसभा सदस्य विश्व प्रेम पाठक, गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीसहित ९ वटै वडाका वडाध्यक्षहरू रिले अनशन बसेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update