Odapalika - The Fourth Estate - चौथो अंग
देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण

काठमाडौँ । अबदेखि देशभरका स्थानीय तहहरुमा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली (टिएमएस) नचल्ने भएको छ ।

संघीय सरकारले संघीय सरकार मातहतका कार्यालय, विभाग तथा निकाय, प्रदेश सरकार मातहतका कार्यालय विभाग र निकाय तथा स्थानीय तहका कार्यालयहरुमा पनि नेप्सेको टिएमएस प्रतिबन्ध लगाएको हो ।

सरकारी कार्यालयमा बसेर कार्यालय समयमा सेयर खरिद विक्री गरेको गुनासो आएपछि कार्यालय समयमा सरकारी कार्यालयहरुमा नेप्सेको टिएमएस प्रतिबन्ध लगाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

उनले जनगुनासो आएपछि त्यसको सम्बोधन गरिएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्– सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु  कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)  प्रतिबन्ध लगाएको छ । 

उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा  टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको जानकारी दिएका छन् । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update