Odapalika - The Fourth Estate - चौथो अंग
युरोप पठाउने भन्दै ठगी गरेको अभियोगमा कलाकार इकु पक्राउ

काठमाडौँ । कलाकार भिषमा युरोप पठाउने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको पाइएपछि प्रहरीले कलाकार सुलेमान शंकर (इकु) लाई पक्राउ गरेको छ ।

विभिन्न देशहरुमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनेर उनले रकम उठाउने गरेका थिए । विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरुलाई युरोपेली मुलुकहरुमा राम्रो काम पाईने र आम्दानी समेत सोही अनुरुप आकर्षक हुने प्रलोभन देखाई रकम असुल गर्ने गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले जानकारी दिएको छ ।

इकले संचालन गरेको एसएमएस फिल्मस प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिब्यक्ति १५ देखी २० लाख रुपैयाँसम्म रकम जम्मा गर्न लगाउने तथा विदेश जान तयार मानिसहरुले खातामा रकम जम्मा गरिसकेपछी रकम जम्मा गर्ने व्यक्तिहरुले कलाकार भिषामा विदेशी मुलुकमा भिषा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने गरेको पाइएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

‘रकम जम्मा गर्ने पिडितहरुले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ  तयारी भएपछी खबर गर्छु भनी पडितहरुलाई लामो समयसम्म झुलाई अन्तमा पिडितहरुको सम्पर्कबाट बाहिर रही ठगी गर्ने गरेको पाइएको छ,’ प्रवक्ता बोगटीले भने । 

इकुलाई प्रहरीले भदौ २५ गते काठमाडौँको हात्तिगौडाबाट पक्राउ गरेको हो । उनले अन्य व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने अनुमानका आधारमा प्रहरीले इकुबाट ठगिएकाहरुलाई सिआइबीमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update