Odapalika - The Fourth Estate - चौथो अंग
सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि...

काठमाडौं । ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । 

सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई यसले अपमान गरेको बताएका हुन् ।

‘हाम्रो देशको मूल कानुन संविधान हो । संविधानमै जनयुद्ध र जनआन्दोलनको ब्याख्या गरिएको छ । संविधानको प्रस्तावनामै उक्त ब्याख्या छ’, उनले भने, ‘संसद्मा जनयुद्धलाई हिंसा भनेर जुन कुरा आएको छ, त्यसलाई संविधान र कानुनविपरीत छ भनेका छौँ । के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो ?’

पाण्डेले सचिवालयलाई कानुन र संविधान हेरेर आफ्ना विषय अघि बढाउन पनि आग्रह गरे । ‘माओवादी जनयुद्धबारे जसरी संविधानमा शान्ति प्रक्रियामा उठेको छ। नियतको विषयबस्तु छ । जनयुद्ध र जनमुक्ति सेनालाई होच्याउने गरी अपमान गर्ने गरी बोलिएको थियो’, उनले भने, ‘भदौ १२ गते उक्त कुरा उठेपछि १३ गते हुँदै अहिलेसम्म मैले भनिरहेको छु । अहिले आएर यो शब्दबारे जुन किसिमको ब्याख्या आएको छ यो बेठिक भएको छ । यो संविधान शान्तिप्रक्रिया र कानुनविपरीत हुन्छ।’

उता माओवादी सांसद देवेन्द्र पौडेलले पनि ‘हिंसा’ शब्दलाई लिएर देशको शान्ति प्रक्रिया भड्काउने कोसिस भएको बताएका छन् । यसै विषयमा संसदमा तनाव उत्पन्न भएपिछ प्रतिनिधिसभा बैठक आइतबार बस्ने गरेर स्थगित भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update