Odapalika - The Fourth Estate - चौथो अंग
थामेका हिमपहिरोपीडित २६ दिनदेखि घरबारबिहीन, पालिका अध्यक्ष भन्छन्- राख्ने  ठाउँ खोज्दैछौँ 
हिमपहिराे पीडितसँग छलफल गर्दै गाउँपालिका अध्यक्षलगायतकाे टाेली

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हाम्हामु गाउँपालिकाको थामेमा हिमपहिरोपछि आएको बाढीका कारण विस्थापित भएका ४० घरपरिवार २६ दिनदेखि घरवारबिहीन बनेका छन् । 

गत ३२ साउनमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले  पालिकाको थामे क्षेत्रमा ३८ घर र टोकटोक क्षेत्रका २ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए भने टोकटोकका २ वटा घर अहिलेपनि जोखिममा छन् । 

बाढीले घरहरु बगाएपछि ती घरमा बस्दै आएकाहरु अहिले आफन्तको घरमा शरण लिएर बसिरहेको गाउँपालिका अध्यक्ष मिग्मा छिरि शेर्पाले जानकारी दिए । उनका अनुसार बाढीले क्षति गरेको स्थानमा अब पुनः घर निर्माण गरेर बस्न सकिने अवस्था नभएकाले विस्थापितका लागि नयाँ स्थानको खोजी भइरहेको छ । 

तर विपत व्यवस्थापन जोखिम न्यूनिकरण समितिले विस्थापितहरुको पुर्नस्थापना र स्थलगत निरीक्षणमा चासो नदेखाउँदा विस्थापितहरुको पुर्नस्थापनामा समस्या भएको अध्यक्षको भनाइ छ । 

उनले समितिका सिइओ विदामा बसेको भन्दै उनी कार्यालय फर्किएलगत्तै स्थलगत अवलोकनपछि पुर्नस्थापना हुने नहुने विषयमा अन्तिम निर्णय लिइने बताए । पीडितहरुलाई विभिन्न संघसंस्था र पालिका आफैँले पनि राहत रकम दिइरहेको छ । 

पालिका अध्यक्षका अनुसार पालिकाको विशेष सभा बसेर बजेट रकमान्तरण गरेर प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत वितरण गरिएको छ भने कतिपय संघसंस्थाले पनि सहयोग गरेका छन् । 

ती सबै सहयोग एकद्धार प्रणालीमार्फत परिचालन भइरहेको उनको भनाइ छ । पालिकाले स्थापना गरेको विपद कोषमा हालसम्म ६५ लाख रुपैयाँ जम्मा भएको र यो रकम बढ्ने क्रममा रहेको अध्यक्षको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update