Odapalika - The Fourth Estate - चौथो अंग
मालश्री धुनको प्रचार र संरक्षण गर्न काठमाडौँ महानगरको अर्केष्ट्रा 

काठमाडौँ । मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ । 

धुन बजाउन सुरु हुने दिन अर्थात् यंला महिनाको अष्टमीका दिन पारेर स्वयम्भूको धर्मचक्र पार्कमा कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमका विषयमा प्रतिक्रिया दिँदै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अमूर्त सम्पदाको सुक्ष्म विषयलाई उजागर गर्ने महानगरपालिकाको कार्यक्रमलाई माल श्री धुनको प्रस्तुतिले योगदान दिने बताइन् । 

मालश्री धुन दशैँ लागेपछि मात्र बजाउने चलन जस्तो देखिएको छ । दाफा संगीतअन्तर्गत पर्ने यो धुन काया अष्टमीदेखि बजाउने परम्परा छ । 

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतका अनुसार छोडिँदै र चलनबाट बाटो विराउँदै गएका संस्कारलाई मौलिक अवस्थामा पुनःस्थापना प्रयासअन्तर्गत कार्यक्रम आयोजना गरिएको होे । 

कार्यक्रममा जति तालको मालश्री धुन, च्व तालमा कालिका जग बोलको र हाइ रे ज्यापुनी तता बोलको मालश्री धुन, अस्तरा तालको खिं द्यःल्यायेगु, छुंमा, मालश्री ग्वारासहित विविध धुन तथा रागहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत धुनमा खिं, पोंगा, ता, झ्याली, वय्, पछिमा मादललगायत मौलिक बाद्यबादन प्रयोग गरिएको थियो । कार्यक्रममा नेपाली भाषाका गीतका धुनहरु प्रस्तुत गरिएका थिए । 

कार्यक्रम स्वर्णिम योजना ‘सांस्कृतिक सहर’ अन्तर्गत सम्पन्न भएको हो । कार्यक्रमका फोकल पर्सन तथा सम्पदा तथा पर्यटन विभागका सहायक निर्देशक धर्म मुनिकारका अनुसार माल श्री धुन बजाउने चलन दाफा संगीतसँगै सुरु भएको मानिन्छ । यसमा मौसम, खेतीपातीलगायत जीवनशैलीसँग सम्बन्धित गायन पनि हुन्छ । माल श्री धुन कोजाग्रत पूर्णिमासम्म बजाइन्छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update