Odapalika - The Fourth Estate - चौथो अंग
अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५२ जनाभन्दा बढी बिरामी
सांकेतिक तस्बिर

काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा ५२ जना बिरामी भएका छन् । अर्जुनधारा वडा नम्बर ९ स्थित रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा ५२ जना बिरामी भएका वडाध्यक्ष भिष्म मिश्रले वडापालिकालाई जानकारी दिए । 

उनका अनुसार पूजाको प्रसाद खाएका रिताका पाहुना र स्थानीय बिरामी भएका हुन् । बिरामीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

गएको मंगलबार लगाएको पूजाको प्रसाद खाएपछि उनीहरु बिरामी भएका हुन् । मंगलबारको घटना भए पनि बुधबार मात्र आफूलाई जानकारी आएको वडाध्यक्ष मिश्रले बताए ।

‘अस्ति बेलुका पूजाको प्रसाद खाएका रहेछन् । अस्तिको घटना भए पनि हामीलाई हिजो थाहा भयो,’ उनले भने, ‘जानकारी भएलगत्तै बिरामीलाई अस्पताल लैजाने काम गरियो । अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।’ 

उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीहरु खतरामुक्त रहेका उनले बताए । 

बिरामीमा वान्ता हुने, टाउको दुख्ने, डायरिया हुनेलगायत लक्षण देखापरेको वडाध्यक्ष मिश्रmले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update