Odapalika - The Fourth Estate - चौथो अंग
शुक्रबार हेटौंडा उपहानगरको विशेष नगरसभा, यस्ता छन् एजेण्डा 

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानरपालिकाले विशेष नगरसभा बेलाएको छ । लामो समयदेखि नगरपालिकाका जनप्रतिनिधिबीच तिक्तता रहँदै आएको छ भने उपहानगरविरुद्ध उद्योगी व्यवसायी आन्दोलित हुँदै आएका छन् । 

यी सबै समस्या समाधान गर्न शुक्रबार दिउँसो २ बजे बस्ने गरी विशेष नगरसभा बैठक बोलाएको १ नम्बर वडाका वडाध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले वडापालिकालाई जानकारी दिए । 

‘भोलि भदौ २८ गते शुक्रबार दिउँसो २ बजेका लागि विशेष नगरसभाको बैठक बोलाइएको छ,’ उनले भने । 

के छ एजेण्डा ?

विशेष नगरसभा बैठक बोलाउनुको एउटै एजेण्डा भनेको विवादित करको दरका विषयमा छलफल गर्ने रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । 

हेटौंडा उपहानगरले चालु आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनमा समेटिएको करको दरप्रति असन्तुष्टि जनाउँदै उद्योगी व्यवसायी आन्दोलित हुँदै आएका छन् । अस्वभाविक करको दर बढाएर आफूहरुमाथि अन्याय गरेको उद्योगी व्यवसायीको गुनासो थियो । यस विषयमा जनप्रतिनिधिबीचमा मतभिन्नता देखियो । जसको समाधानका लागि विशेष नगरसभा बैठक बोलाइएको हो । तर, शुक्रबार नै यस विषयको निक्र्याैल नहुने प्रवक्ता न्यौपानेले बताए । शुक्रबार विशेष नगरसभा बैठक औपचारिक रुपमा सुरु मात्र हुने र केही निर्णय नगर्ने उनले बताए । 

आर्थिक ऐन नै आइसकेको र त्यसमा समेटिएको विषयलाई परिमार्जन गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न उपमेयर राजेश बानियाँ नेतृत्वको पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा उपमेयर बानियाँसहित सदस्यमा वडाध्यक्षहरु सविन न्यौपाने, नवीन सिग्देल, विष्णुगोपाल महर्जन र फुर्वा दोर्जे लामा छन् ।

उक्त कार्यदलको सुझावका आधारमा मात्र विशेष नगरसभाले कर समायोजनबारे निर्णय लिने प्रवक्ता न्यौपानेले जानकारी दिए । उनका अनुसार कार्यदलले प्रतिवेदन बुझाइसकेको छैन । ‘कार्यदलले प्रतिवेदन बुझाएको छैन । सदस्य रहेका वडा नम्बरका वडाध्यक्ष बिरामी हुनुभएकाले बैठक नै बसेको छैन,’ उनले भने, ‘कार्य दलको सुझावका आधारमा नगरसभाले करको दर समायोजनबारे निर्णय लिन्छ ।’ 

करको दल बढाएपछि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी व्यवसायी आन्दोलित छन् । उद्योगी व्यवसायीको माग सम्बोधन गर्न २६ भदौमा बसेको उपमहानगरको कार्यपालिका बैठकले भदौ २८ गतेका विशेष नगरसभा बैठक बोलाएको हो । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update