Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरद्वारा एसईईमा उत्कृष्ट ग्रेड ल्याउन विद्यार्थी र विद्यालय पुरस्कृत 

काठमाडौँ । ललितपुर महानगरपालिकाले २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मानसहित पुरस्कृत गरेको छ। 

ललितपुर महानगरले सामुदायिक विद्यालयतर्फ आदर्श सौल युवक माध्यामिक विद्यालयकी छात्रा ल्हाकी शेर्पालाई सम्मानसहित पुरस्कृत प्रदान गरेको छ । उनले सम्मानपत्रसहित दुई लाख नगद पुरस्कार प्राप्त गरिन् । 

त्यसैगरी, सो विद्यालयलाई ४ लाख नगरप्रमुख चिरीबाबु महर्जनले हस्तान्तरण गरे । त्यसैगरी सेन्ट जेभियर्स स्कुल जावलाखेलकी अनुष्का पाण्डे, सेन्ट मेरिज स्कुलकी मानवी ज्ञवालीले जनही दुई लाखसहित सम्मानपत्र प्राप्त गरे । 

जेम्स स्कुल धापाखेलकी साम्राज्ञी लामिछाने र ब्राइट फ्युचर सेकेन्डरी स्कुलका का शेक्रिना शाही, उज्ज्वल चौलागाईं सम्मानित हुनुका साथै पुरस्कृत भए । उनीहरूलाई पनि नगर प्रमुख महर्जनले जनही २ लाखका दरले चेक हस्तान्तरण गरे ।

नगरप्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर शिक्षाको हब भएको बताउँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले छोराछोरी र विद्यार्थीलाई अभिभावकले विश्वास गर्नुपर्ने बताइन् । विश्वासले सफल बन्न सहयोग गर्ने उनको भनाइ थियो । 

प्रमुख प्रशासकीय अधिकृत रेखा दासले शिक्षामा लगानी गर्नु भविष्यको लगानी भएको बताइन् । ललितपुर महानगरले शिक्षालाई प्राथमिकतामा  राखेको बताइन् ।  सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राजु महर्जनले ललितपुर महानगरले शिक्षालाई प्राथमिकतामा राखेको बताए ।  

उनले भने ‘हामीले अघिल्लो वर्ष स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका थियौँ, यो वर्ष शिक्षालाई प्राथमिकतामा राखेका छौँ ।’ 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update