Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर 

काठमाडौँ । नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्र पठाउँदै स्थानीय तहको सट्टा स्थानीय सरकार लेख्न सर्कुलर जारी गरेको छ । 

यसअघि पनि नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले देशभरका स्थानीय तहलाई स्थानीय सरकार लेख्न आग्रह गरेको थियो । संघ र महासंघले निर्णय नै गरेर स्थानीय सरकार लेख्न आग्रह गरे पनि यसको कार्यान्वयन भएको थिएन । फेरि यही भदौ २० गते नगरपालिका संघले महानगर, उपमहानगर र नगरपालिकालाई पत्र पठाएर स्थानीय सरकार लेख्न सर्कुलर जारी गरेको हो । 

‘नेपालको संविधानले संघीय शासन प्रणाली अवलम्बन गरी संविधानको धारा ५६ ले राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहबाट हुने व्यवस्था गरेको र संघले नेपाल सरकार, प्रदेशले प्रदेश सरकार लेखी सोहीअनुरुप अभ्यास गर्दै आएकोमा स्थानीय तहको अधिकार प्रयोग गर्दा नगरपालिकाको छाप, साइन बोर्ड, लेटरहेड र कार्यक्रमहरुमा राखिने ब्यानर लगायतमा ’स्थानीय सरकार’ उल्लेख गर्न नेपाल नगरपालिका संघको कार्यसमितिको बैठकले पत्राचार गर्ने निर्णय अनुसार सोही बमोजिम गर्न गराउन अनुरोध छ,’ संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

यी पनि :

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update