Odapalika - The Fourth Estate - चौथो अंग
३० वर्षदेखि फोहोरकै कचकच, १ असोजबाट बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने घोषणा 

काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिल साईट प्रभावित क्षेत्र सरोकार समितिले १ असोजबाट उपत्यकाको फोहोरमैला बञ्चरेडाँडा ल्याण्डफिल साईटमा लैजान सधैका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक श्रीराम ढुंगानाले उपत्यकाको फोहोरमैला घरबस्तीमा लान बन्द गर्ने अभियानमा लाग्नुपर्ने बाध्यकारी परिस्थिति आएको भन्दै फोहोर फ्याल्न नदिने घोषणा गरे । 

उनले काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य नगरपालिका समेतको संयुक्त षड्यन्त्रद्वारा प्राविधिकलाई आफ्नो एकाधिकार सामेल गराएर नकारात्मक प्रभाव परेको क्षेत्रमा कुनै प्रभाव नरहेको भन्ने काल्पनिक प्रतिवेदन तयार गर्न लगाएको जिकिर गरे । 

उक्त क्षेत्रमा आम नरसंहार, मानव अस्तित्व नै समाप्त गराउने भीषण योजनामा महानगरपालिका लागेको भन्दै फोहोरमैला प्रवेश गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको पनि ढुंगानाले बताए । 

बञ्चरेडाँडा ल्याण्डफिल साईट प्रभावित क्षेत्र सरोकार समितिले विगत २८ भदौ, २०५१ मा स्थानीय विकास मन्त्रालय काठमाडौं महानगरपालिका, ललितपुर समेतले ओखरपौवा र चाउथेका जनप्रतिनिधि समेतको संयुक्त बैठकमा गरेको सहमति र निर्णय आजसम्म कार्यान्वयन नभएको गुनासो गरेको छ । समितिले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरुपको कार्यान्वयन अविलम्ब गर्न माग समेत गरेको छ ।

ल्याण्डफिल साईटमा अटेर गरी प्रवेश गरे गराएमा, विषम परिस्थिति सृजना गराई दुर्घटना गराएमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकाहरु त्यसका योजनाकारहरु फोहोरमैला ढुवानीमा प्रयोग भएका सवारी धनीहरु चालकहरु जिम्मेवार हुनुपर्ने भन्दै स्थानीय नागरिक जवाफदेही नहुने चेतावनी पनि समितिले दिएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update