Odapalika - The Fourth Estate - चौथो अंग
भक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीद्वारा चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

भक्तपुर ।  भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर वडा नं. १ विद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेकी छन् । 

भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा भएको प्रतियोगिता बिहीबार सकिएको छ । समापन कार्यक्रममा उपप्रमुख जोशीले प्रतियोगिता आयोजनाले धेरै विद्यार्थीमा उत्साह थपिएको बताउँदै विद्यार्थीको प्रतिभा उजागर गर्न यस किसिमका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । 

भक्तपुरको कला संस्कृति, संस्कार, भाषा, इतिहासबारे विद्यार्थीलाई ज्ञान प्रदान गर्ने उद्देश्यले नगरभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको चर्चा गर्दै उपप्रमुख जोशीले सफा र स्वच्छ वातावरण निर्माणको लागि प्लाष्टिकजन्य फोहोरलाई निषेध गर्दै लानुपर्नेमा जोड दिइन् । 

उनले भक्तपुर शिक्षाको उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास भइरहेको बताउँदै शिक्षाबाट अगाडि बढेको भक्तपुर नपाले स्वास्थ्यअन्तर्गत १०० बेडको ख्वप अस्पताल सञ्चालन, घरदैलो नर्सिङ सेवालगायतका सुविधाहरु प्रदान गर्दै आइरहेको बताइन् । 

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटनको लागि वडाले विविध अतिरिक्त क्रियाकलापहरुको प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको बताए । 

कार्यक्रममा गणेश मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविनद्र खर्बुजाले प्रतियोगिता आयोजनाले विद्यार्थीहरुको सीप प्रदर्शन गर्ने अवसर मिलेको बताउँदै विद्यालयहरुमा चित्रकलाको प्रशिक्षण सञ्चालनमा जोड दिनुपर्ने धारणा राखे । 

मूल्यांकन समितिका जगतराम धुख्वाले विद्यार्थीहरुले किताबी ज्ञानसँगसँगै आफ्नो रुचिअनुसारको ज्ञान र सीप हासिल गर्न प्रेरित गरे । 

कार्यक्रममा भनपा वडा नं.१ का वडा सदस्य कल्पना शिल्पकार, गंगा बमनू, समाजसेवी कृष्णबहादुर दुगुजु र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि धारणा राखेका थिए । 

क–कसले जिते पुरस्कार ?

चित्रकला प्रतियोगिताअन्तर्गत कक्षा १ देखि ५ सम्म छात्रतर्फ सूर्यविनायक इ. स्कूलका अतिशकुमार यादव प्रथम, मोर्डन इ. स्कूलका सम्राट बुढाथोकी द्वितीय, निकोल्सन स्कूलका सक्षम दनुवार तृतीय र सन्तति आ.विका करण दास सान्त्वना भएका थिए । त्यस्तै छात्रातर्फ मोर्डन इ. स्कूलका सुहाना राई प्रथम, गणेश माविका सकिला स्याङताङ द्वितीय, सूर्यविनायक स्कूलका प्रशुना श्रेष्ठ तृतीय र निकोल्सनका प्रत्युसा कार्की सान्त्वना भएका थिए ।

 कक्षा ६—८ छात्रतर्फ गणेश माविका पंकज महतो प्रथम, अक्सफोर्ड प्राक्टिकलका आरब चौधरी द्वितीय, सनसाइन इ. स्कूलका आरोग्य ताम्राकार तृतीय र सैनिक आवासीय महाविद्यालयका मिगिन रानामगरले सान्त्वना स्थान हासिल गरेका थिए । 

त्यस्तै छात्रातर्फ सैनिक आवासीय महाविद्यालयका प्रशंसा प्रसाईं प्रथम, सूर्यविनायक स्कूलका सृष्टि राई द्वितीय, गणेश माविका निशा तामाङ तृतीय र सनसाइनका दिया शाक्यले सान्त्वना स्थान हासिल गरेका थिए ।

 उक्त प्रतियोगितामा भनपा वडा नं. १ स्थित अक्सफोर्ड प्रा. इ. स्कूल, सनसाइन नेशनल स्कूल, सन्तति आ.वि., लिटिल वल्र्ड इ. स्कूल, गणेश मावि, मोर्डन इ. स्कूल, सूर्यविनायक इ. स्कूल, निकोल्सन से. स्कूल, ज्ञानविजय आधारभूत विद्यालय, उदय आ.वि. सैनिक आवासीय महाविद्यालय गरी ११ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update