Odapalika - The Fourth Estate - चौथो अंग
अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यसचिवको निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई अन्तरतह र अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन पत्राचार गरेकाे छ । 

मुख्यसचिवको निर्देशन भन्दै संघीय मन्त्रालयले देशभरका स्थानीय तहमा पत्राचार गरेर अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन भनिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पत्रसहित संघीय मामिला मन्त्रालयले स्थानीय तहमा पत्राचार गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सन्तुष्टि दिलाउने गरी प्रभावकारी कार्यसम्पादन गर्न मार्गनिर्देशन गरेको र सोहीअनृुसार भदौ १६ गते मुख्यसचिवले निर्णय गरेको भन्दै प्रभावकारी रुपमा अन्तरसकारी समन्वय गर्न भन्दै दुईबुँदे निर्देशन प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ । 

पहिलो बुँदामा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहबीच अन्तर तह र अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन विद्यमान संवैधानिक कानुनी र प्रशासनिक संयन्त्रलाई तत्काल सक्रीय बनाउनका लागि नेपाल सरकारका सबै सचिव, प्रदेशका प्रमुख सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई लेखी पठाउने र सोको प्रतिवेदन मासिकरूपमा यस कार्यालयमा पेस गर्न लगाउने ।

र दोस्रो बुँदा उल्लेख गरिएको छ, ‘शासकीय प्रबन्ध, विकास प्रशासन तथा सार्वजनिक सेवा प्रवाहको व्यवस्थापनमा तत्काल रूपान्तरण गरी नतिजामुखी, झन्झटरहित र कम लागतयुक्त बनाउन ‘डाटा दौडिने तर व्यक्ति कार्यालय कार्यालय दौडिन नपर्ने गरी डिजिटलाईजेसन लगायत अत्याधुनिक प्रविधि उपयोग र सोको अन्तरआवद्धता गर्ने लगायतका विशिष्टिकृत ज्ञान र प्रविधिको प्रयोग गरी नागरिकमैत्री बनाउनका लागि नेपाल सरकारका सबै सचिवलाई सात दिनभित्र कार्ययोजना तयार गरी यस कार्यालयमा पेस गर्न लगाउने साथै प्रदेश प्रमुख सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई यसै बमोजिम कार्ययोजना तयार गरी कार्यान्वयन गर्न लेखी पठाउने ।’ 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को दुईबुँदे पत्रसहित संघीय मामिला मन्त्रालय देशभरका सबै स्थानीय तहमा पत्राचार गरेर अन्तरतह र अन्तरसरकारी समन्वय प्रभावकारी रुपमा गर्न र सोको प्रतिवेदन मासिक मन्त्रिपरिषद् कार्यालयमा पेस गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update