Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारका ६ महिनाः २८ मुद्दा दर्ता, अख्तियारको काममा प्रचण्डकाे जस 

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ । गठबन्धन सरकारको नेतृत्व गरेका दाहालले आफ्नो (२०७९ पुस ११ गतेदेखि २०८० असार १० गतेसम्मको) ६ महिनाको कार्यविवरण सार्वजनिक गरेको छ । 

गठबन्धन सरकारको नेतृत्व सम्हाल्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताएको दाहाल सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहको सरकारमा कडाईका साथ कार्यान्वयन गरेकोदेखि भ्रष्टाचारसम्बन्धी विभिन्न २८ वटा मुद्दा दर्ता गराएकोसम्मलाई ६ महिनाको उपलब्धिको रुपमा लिएको छ । 

यस बीचमा सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि विविध ६ वटा कामलाई ६ महिनाको कार्य विवरणमा उल्लेख गरिएको छ । 

दाहालले सरकारको कार्यभार सम्हालेको ६ महिनामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि गरिएका काममा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहका सरकारमा कडाइको साथ लागू गरिएको, नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याइएको, मिटरव्याजी पीडितको समस्या समाधानका लागि मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गरिएको पनि उल्लेख गरिएको छ । 

साथै जाँचबुझ आयोग गठन गरी २३ हजार ११८ उजुरीमाथि कारबाही गरिएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल ११ हजार ३७३ उजुरी दर्ता भएकोमा ९ हजार ३७४ मुद्दा फछ्यौट गरेको उल्लेख छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएका टोलीले रङ्गेहात २९ जनालाई घुससहित पक्राउ गरेकोदेखि भ्रष्टाचार सम्बन्धी विभिन्न कसुरमा ७८ वटा मुद्दा दायर गराई १ अर्ब ११ करोड ५५ लाख बिगो दाबी गरिएकोलाई ६ महिनाको उपलब्धिको रुपमा राखिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update