Odapalika - The Fourth Estate - चौथो अंग
विद्युत् प्राधिकरणले सडकको रुख काटेपछि पोखराका मेयर आक्रोशित

काठमाडौँ । कास्की पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले समन्वयविना नै सडकको रुख काटेपछि नेपाल विद्युत् प्राधिकरणप्रति आक्रोशित भएका छन् । 

पोखरा महानगरले ‘ग्रीन पोखरा, क्लिन पोखरा’ परियोजना सुरु गरेको भन्दै उनले वर्षाै लगाएर हुर्किएका रुख काटिएकोप्रति आक्रोश व्यक्त गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले शनिबार पोखरा न्युरोड क्षेत्रका रुख काटेको महानगरले जनाएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत काटिएका रुखका तस्बिरसहित मेयर आचार्यले विज्ञको सुझावअनुसार २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य लिएका बेला प्राधिकरणले निर्ममतापूर्वक रुख काटेको बताएका छन् । 

‘पोखरामा हामीले ‘ग्रीन पोखरा, क्लिन पोखरा’ परियोजना सुरु गरेका छौँ, जसअन्तर्गत २ लाख २६ हजार बिरुवा विज्ञहरुको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका छौँ । तर, धेरै वर्ष लगाएर हुर्केका सडक किनाराका रुखहरु बिनासमन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ,’ मेयर आचार्य आक्रोशित हुँदै प्रश्न गर्छन्, ‘विद्युत् प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहान्छु, यस्तो अधिकार कसले दियो हाकिम साब ?’

सडक किनारका रुख काट्न खोजिएको देखिएमा महानगरलाई जानकारी दिन उनले महानगरको हटलाइन र नगरप्रहरीको नम्बरसमेत दिएका छन् । 

‘अब सडक किनारका बिरुवा बिनाअनुमति काट्न खोजिएको देखिएमा महानगरको हटलाइन ११८१ वा नगर प्रहरीको सम्पर्क नम्बर ९८४६०४०७५१ मा खबर गरिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्दछु। हाम्रो सहरलाई हरियाली सहर बनाउन सक्रीय सहभागी बनौँ,’ मेयर आचार्यले भनेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update