Odapalika - The Fourth Estate - चौथो अंग
आज ३ वटा प्रदेशमा पानी पर्दा भोलिको यस्तो छ मौसम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मनसुनमा कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जसका कारण आज अर्थात सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको भनाइ छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अत्याधिक वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका पूर्वी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मंगलबार पनि देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा साधारणतया मौसम सफा रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराईका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update