Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचार अभियोगमा वडाध्यक्षलाई कैद र जरिमाना फैसला 

काठमाडौँ । सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको अभियोगमा एकजना वडाअध्यक्षलाई कैद र जरिमाना सजाय भएको छ । 

विशेष अदालतले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिमाना सजाय हुने ठहर गरेको हो । 

नागरिकता लगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई आज दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी सजाय हने फैसला गरेको हो । 

अदालतले उनलाई ९ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ ।

दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका वडाध्यक्ष लुइँटेलले पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर विशेष अदालतको छ ।

रतुवामाई नगरपालिका वडा नं। ६ बस्ने मेघदीप पोखरेल पनि यही मुद्दामा दोषी ठहर भएका छन् । उनले जेठी श्रीमती तुलसा देवीको नागरिकताको प्रथम प्रतिलिपिको फोटोकपीमा जन्ममिति सच्याइ ज्येष्ठ नागरिक भत्ता पाउने लाभग्राहीको सूचीमा नाम प्रविष्ट गराएको विशेष अदालतको ठहर छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update