Odapalika - The Fourth Estate - चौथो अंग
सहकारीको रकम हिनामिनामा रवि लामिछानेको संलग्नता पुष्टि, समितिले प्रतिवेदन बुझाउँदै 
फाइल तस्बिर

काठमाडौँ । सहकारीको रकम हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

एमाले सांसद सूर्य थापाको नेतृत्वमा रहेको छानबिन समितिले सहकारीको रकम अपचलनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको संलग्नताको पुष्टि गर्दै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रविको संलग्नता रहेको निष्कर्ष निकाल्दै समितिले रविमाथि कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाउन लागेको हो । यसलाई पुष्टि गरेका छन् समिति सदस्य ध्रवबहादुर प्रधानले । 

उनले गोर्खा मिडियाले आर्थिक स्रोत जुटाउँदा सहकारीबाट रकम लिएको र त्यति बेला गोर्खा मिडियाको प्रवन्ध निर्देशक रहेका रवि लामिछानेको संलग्नता देखिएको बताए । 

प्रतिवेदन बुझाउनुअघि पत्रकारसँग सदस्य प्रधानले भने, ‘गोर्खा मिडियाको अर्थ संकलनका क्रममा सहकारीबाट रकम प्राप्त भएको देखियो । उहाँ (रवि लामिछाने) गोर्खा मिडियाको प्रवन्ध निर्देशक भएका हिसाबले संलग्नता छ ।’

गोर्खा मिडियाका जीबी, रवि लामिदाने र छविराज जोशी तीनजना सञ्चालक थिए । गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए । सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा ल्याउने र त्यो रकम रवि लामिछानेमार्फत खर्च भएको देखिएको छ । 

तीनजनाकै नाममा संयुक्त बैंक खातासमेत खोलिएको थियो । तर, रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेकबाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको समिति सदस्यहरुले बताएका छन् ।

रवि लाछिानेको संलग्नता रहेको केही समिति सदस्यहरुले बताए पनि प्रतिवेदनमा के के लेखिएको छ, सुझाव तथा सिफारिस के–कस्ता भएका छन् भन्ने विषयमा समितिले आफ्नो प्रतिवेदन बुझाएपछि मात्र विस्तृत रुपमा थाहा हुनेछ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update