Odapalika - The Fourth Estate - चौथो अंग
प्रशासकीय अधिकृत सरूवामा मनपरी, जीतपुसिमरामा एकसाथ ३ अधिकृत !

काठमाडौँ । संघीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत मनपरी ढंगले पठाएको छ । सरकारले बाराको जीपपुरसिमरा उपमहानगरपालिकामा तीनजना प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने सरकारको निर्णय ‘अर्काे आदेश नभएसम्मका लागि कार्यान्वयन नगर्नू’ भन्ने सर्वाेच्च अदालतको अल्पकालीन अन्तरिम आदेशविपरीत फेरि सरकारले अर्काे प्रशासकीय अधिकृत पठाएको हो । 

उर्मिला काफ्लेले मेयर राजन पौडेललाई सहयोग गरेको बहानामा एमालेले उनको सरुवा गर्न खोजेको थियो । एमालेबाट सरकारमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको सहयोगमा उर्मिला काफ्लेलाई सरुवा गरेर चेतकुमार पोखरेललाई पठाइएको थियो । 

तर, मन्त्रालयलाई विपक्षी बनाएर उर्मिलाले आफ्नो सरुवा गर्ने सरकारको निर्णय बदरको माग राख्दै सर्वाेच्च अदालतमा रिट दायर गरिन् । उक्त रिटमाथि सुनुवाइ गर्दै गत साउन ९ गते न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले अर्काे आदेश नभएसम्म उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । 

हेर्नुहोस् सर्वाेच्चको आदेश

उक्त मुद्दा अहिले सर्वाेच्च अदालतमा विचाराधीन अवस्थामा छ भने थप आदेश वा निर्णय भएको छैन । थप आदेश वा निर्णय अदालतबाट नआइसकेको अवस्थामा फेरि सरकारले जीतपुरसिमरा उपहानगरपालिकामा सहसचिव वीरेन्द्र देव भारतीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा काजमा पठाएको छ । 

संघीय सरकारको मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले ४० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । सो क्रममा मन्त्रालयले अतिरिक्त समूहमा रहेका भारतीलाई जीतपुरसिमरा पठाउने निर्णय गरेको हो । 

हेर्नुहोस् क्रम संख्या १७ मा 

जीतपुरसिमरा उपहानगरपालिकामा राजनीतिक दाउपेच चल्दै आएको छ । चालु आर्थिक वर्षको बजेट पारित हुन नदिने प्रपञ्चलाई मेयर राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले असफल बनाउँदै पारित गरेका थिए । त्यसपछि उर्मिलाको सरुवा गर्न एमाले र कांग्रेसका नेताहरु कम्मर कसेर लाग्दै आएका छन् । 

केही समयअघि मन्त्रालयबाट स्वीकृत गरी एक कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेकी उर्मिलाको अन्तिम समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रमण रद्द गरेको थियो । 

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको राजनीतिक दाउपेचको निरुपणतिर ध्यान दिनुपर्ने संघीय मन्त्रालयले उल्टै सर्वाेच्च अदालतको आदेशविपरीत प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्य गरेको देखिन्छ । 

उर्मिला हुँदा हुँदै साउन ३ मा चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइयो । सर्वाेच्चमा आफ्नो सरुवाविरुद्ध रिट हालेर उर्मिला त्यहीँ बसिन् । तर, पोखरेल कता पुगे उपमहानगरलाई थाहा छैन । ‘उर्मिला काफ्ले हुँदा हुँदै सरकारले साउन ३ गते चेतकुमार काफ्लेलाई पठाइएको थियो,’ मेयर राजन पौडेल भन्छन्, ‘सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार उर्मिला यहीँ बस्नुभयो, चेतकुमार कता जानुभयो हामीलाई केही थाहा छैन ।’ 

फेरि अहिले संघीय सरकारले वीरेन्द्र देव भारतीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा काजमा जीतपुरसिमरा उपमहानगरपालिकामा पठाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update