Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री ओलीको स्वागत छल्न इन्द्रजात्रामा भएनन् काठमाडौँका मेयर बालेन 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार इन्द्रजात्रा मनाइँदै छ । विभिन्न कार्यक्रम गरी मनाइने इन्द्रजात्राको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा नै दिएको छ । 

प्रत्येक वर्ष इन्द्रजात्रामा अवसरमा आयोजना हुने विशेष कार्यक्रम काठमाडौं महानगरपालिकाले गर्दै आएको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, संघीय संसदका सदस्य, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत सर्वसाधारणको सहभागी हुने गरेको छ । 

तर, यही कार्यक्रम छल्न आयोजक काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) स्वदेशमा छैनन् । पछिल्लो समयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र मेयर बालेनबीच ‘वाक्युद्ध’ चलेको छ । जसकारण प्रधानमन्त्री ओलीको स्वागत छल्न मेयर बालेन भारत पुगेको टिप्पणी भइरहेको छ । 

राष्ट्रप्रमुख, सरकार प्रमुखजस्ता अतिविशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रमको आयोजक काठमाडौँ महानगरकै मेयर बालेन सामान्य कामका लागि भारत पुगेकाले प्रधानमन्त्री ओलीको स्वागत छल्न खोजिएको टिप्पणी भइरहेको हो । 

गएको आइतबार भारतको बैंगलोर पुगो बालेन मंगलबार स्वदेश फर्किंदैछन् । आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको कार्यक्रममा भाग लिन र आफ्नो शैक्षिक प्रमाणपत्रमा नाम सच्याउन उनी भारत गएको भनिएको छ । 

मेयर बालेन अनुपस्थित हुने भएपछि इन्द्रजात्राको अवसरमा हुने कार्यक्रममा अब उपमेयर सुनिता डंगोलले राष्ट्रपति, प्रधानमन्त्री लगायत अतिथिलाइ स्वागत गर्नेछिन् । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update