Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्डपथमा रवि लामिछाने !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूहरुमाथि ठूलो आक्रमण हुन सक्ने भन्दै नेता कार्यकर्तालाई प्रतिवाद र सामना गर्न तयार रहन निर्देशन दिएका छन् । 

मंगलबारबाट सुरु भएको पार्टीको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरुमाथिको प्रहार र आक्रमण ठूलै हुने भन्दै त्यहीअनुसार तयार नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

‘...हामी सानो लडाइँको लागि यहाँ जम्मा भएका होइनौं । हामीले चाल्ने कदम पनि ठूलै हुन्छ र हामीमाथिको प्रहार र आक्रमण पनि ठूलै हुन्छ । त्यहीअनुसार तयार रहनुस्,’ उनले सम्बोधनका क्रममा भने । 

उनको यो अभिव्यक्ति यतिखेर आएको छ, जतिखेर उनलाई संसदीय विशेष छानबिन समितिले कारबाहीको सिफारिस गरेको छ । सोमबार सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिले लामिछानेसहित गोर्खा मिडियाका सञ्चालकलाई कारबाहीको सिफारिस गरेको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । तुरुन्तै सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि प्रतिवेदन सरकारलाई दिन आफ्नो सचिवालयलाई निर्देशन दिइसकेका छन् । 

यसको भोलिपल्ट मंगलबार लामिछानेले आफूहरुमाथि ठूलै आक्रमण हुने र यसका लागि तयार रहन निर्देशन दिएका हुन् । तर, कस्तो आक्रमण र कसले गर्छ आक्रमण भन्नेबारे केही खुलाएनन् । उनी पूर्वगृहमन्त्री पनि हुन्, वास्तविक सूचना आएर हो या आफूमाथि हुने सरकारी कारबाहीलाई अवरोध सृजना गर्न उक्त अभिव्यक्ति दिएका हन् । त्यो खुल्दै जाला । 

उनकैजस्तो अभिव्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दिने गर्थे । २०६२/०६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएसँगै प्रचण्डले २०६४ सालको संविधानसभाको निर्वाचनमा आफूहरुमाथि षड्यन्त्र भए  फेरि जंगल जाने अभिव्यक्ति दिए । जब जब आफ्ना निर्णय गलत हुँदा, सत्ताबाट बाहिरिँदा र आफ्नो एजेण्डा स्थापित गराउन प्रचण्डले आफ्ना नेता तथा कार्यकर्तालाई उकास्ने काम गर्थे । परे फेरि विद्रोहका लागि तयार रहन प्रचण्ड निर्देशन दिन्थे । आफ्ना नेता र कार्यकर्तामात्र होइन जनतामा पनि भ्रम पैदा गराएर आन्दोलनका लागि उकास्ने काम प्रचण्डले गर्ने गरेका थिए । 

२०६९ सालको जेठको पहिलो साता संविधानका विवादित विषयमा दलहरुबीच सहमति भए पनि आफू अनुकुलको नभएपछि रातभरमा प्रचण्डले कार्यकर्तालाई उकास्ने काम गरे । भोलिपल्ट देशभर प्रदर्शन भयो । अघिल्लो दिन माओवादी आफैँले सहमति जनाएको विषय प्रदर्शनसँगै तोडियो । र अन्ततः २०६९ जेठ १४ गते आफ्नो कार्यभार पूरा नगरी संविधानसभा विघटन भयो । त्यतिखेर माओवादीकै डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । 

हालै सत्ताबाट बाहिरिएसँगै माओवादी अध्यक्ष प्रचण्डले देश बंगलादेश र श्रीलंकाको अवस्थामा पुगेको भन्दै जनतालाई उकास्ने काम गरेका छन् भने उस्तैगरी रास्वपा सभापति लामिछानेले पनि नेता तथा कार्यकर्ता उकासिरहेका छन् । 

संसदीय छानबिन समितिले कारबाहीको सिफारिस गरेपछि लामिछाने जनतालाई भ्रमित तुल्याउने गरी अभिव्यक्ति दिइरहेका छन् । र कार्यकर्तालाई आफूहरुमाथि ठूलै षड्यन्त्र हुन लागेको भनेर आफू पक्राउ पर्ने सम्भावनालाई रोक्ने गरी उनको अभिव्यक्ति आएको हो । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update