Odapalika - The Fourth Estate - चौथो अंग
एकल महिलाका लागि पालिका अध्यक्षले बनाइदिए घर

काठमाडौँ । मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आवासविहीन एकल महिलालाई घर बनाइदिएका छन् ।

उनले गाउँपालिकाबाट प्राप्त पारिश्रमिक तथा सेवा सुविधा वापतको रकमबाट मनहरी–५, बसन्तपुरकी सोनी राईलाई पक्की घर बनाइदिएका हुन् । 

उक्त निर्माण सम्पन्न घर मंगलबार गाउँपालिका अध्यक्ष कालाखेतीले राईलाई हस्तान्तरण गरेका छन् ।

लामो समयदेखि राई मनहरी–५ बसन्तपुरमा आवासविहीन अवस्थामा रहँदै आइरहेकी थिइन् । राईको परिवारमा उनीबाहेक कोही नरहेको बताउँछिन् । करिब आठ वर्ष अगाडि श्रीमान नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएको उनले बताइन् ।

निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिवद्धता अनुसार कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकमको कोष बनाएर जम्मा गर्दै आएका छन् । आगामी दिनमा पनि समस्यामा परेका पालिकाबासीको सेवामा उक्त कोषबाट रकम खर्चिने प्रतिवद्धता उनले गरेका छन् ।

उक्त कोषबाट राईको घर निर्माण गर्न २ लाख १५ हजार रुपैयाँ खर्च लागेको अध्यक्ष कालाखेतीले बताए ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update